News Portal

  • कोशीमा बीमा बढाउन उच्चस्तरीय समिति गठन हुने, प्रदेश बीमा नीति ल्याउने

    आर्थीकसंसार संवाददाता२२ असार, २०८२
    १८ पटक
    २२ असार, २०८२

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा विराटनगरस्थित कोशी प्रदेश सरकारको सभाहलमा आइतबार सम्पन्न बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारले बीमाको पहुँच विस्तार गर्न उच्चस्तरीय समिति गठन गर्ने र प्रदेश बीमा नीति ल्याउने घोषणा गरेको छ ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यक्रममा बीमाको दायरा विस्तार गर्दै राहत वितरणभन्दा नागरिकलाई बीमा सुरक्षामा ल्याउन प्राथमिकता दिने बताए । न्यून आय भएका नागरिक र घर बीमालाई विशेष प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्दै उनले बीमा कम्पनीहरूले समयमा दाबी भुक्तानी नगरेसम्म जनविश्वास नबढ्ने भन्दै कारवाहीका लागि प्राधिकरणलाई निर्देशन दिन आग्रह गरे ।

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र नियमावलीअनुसार बीमा विस्तारका लागि प्रदेश सरकारले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिँदै प्रदेशमा ‘बण्डल प्रोडक्ट’ विकास र अभियान सञ्चालन गर्न प्राधिकरण तत्पर रहेको जानकारी गराए । साथै, जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि हात्ती बीमालेख तयार गर्ने प्रक्रिया अघि बढेको उनले बताए ।

    नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा बजारको अवस्था, विकासका सम्भावना र प्रदेश सरकारको भूमिकाबारे प्रस्तुति दिएका थिए ।

    अन्तरक्रियामा सहभागीहरूले सबै प्रदेशमा लागू गर्न मिल्ने साझा बीमा नीति बनाउनुपर्ने, संघ र प्रदेशबीच सहकार्य बलियो बनाउनुपर्ने, बीमा दाबी भुक्तानीमा ढिलाइ नगरिनुपर्ने, जङ्गली हात्ती प्रभावित क्षेत्रमा विशेष बीमालेख ल्याउनुपर्ने धारणा राखे ।

    कार्यक्रममा प्रदेशका मन्त्रीहरू, योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिव तथा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद पोखरेलले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्