
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् । शनिबार प्रतिनिधि सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वैदेशिक ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताएका हुन् ।
उनकाअनुसार वाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनुहुँदैन भन्ने पक्षमा सरकार छ ।
उनले भने–‘हामी स्पष्ट हुन जरुरी छ । साधारण खर्चका लागि ऋण लिने होइन । पुँजीगत खर्चका लागि लिनुपर्छ । उत्पादन उत्पादकत्व बढाउन ऋण लिनुपर्छ । यसका निम्ति आएका सुझावहरुप्रति सम्मान गर्न चाहन्छु । सरकारको दृष्टिकोण पनि त्यही नै हो । यसको अर्थ हामी ऋणलाई पुँजी निर्माणको क्षेत्रमा खर्च गछौँ भन्ने नै हो ।’
अर्थमन्त्री पौडेलले ऋण लिएर तिर्ने अवस्था अहिले पनि रही रहेको बताए । विगतको दायित्व धेरै भएकाले अहिले संयमित तवरले नै ऋण लिइएको उनको भनाइ रहेको छ ।