
काठमाडौं । सिटिजन्स बैंकले अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग हस्तान्तरण गरेको छ ।
समाजसेवामा समर्पित उक्त ट्रस्टले अशक्त र पीडितहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवा प्रदान गर्दै आएको छ । साथै, निःशुल्क भोजन सेवा, धार्मिक सम्पदाको संरक्षण तथा मर्मत, नारीशक्ति सशक्तीकरणका लागि कन्या गुरुकुल सञ्चालन, गाई संरक्षण र धर्मशाला व्यवस्थापन जस्ता विविध सामाजिक–धार्मिक कार्यमा क्रियाशील छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक समारोहकाबीच ट्रस्टलाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै पोखरेलले सेवा भावमा समर्पित ट्रस्टलाई सहयोग गर्न पाउँदा सानै भए पनि यो सहयोगमार्फत सकारात्मक कामको साथ दिन पाउँदा गर्व लागेको बताए ।
बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य, संस्कृति, वातावरण तथा समावेशी विकासका क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरू संचालन गर्दै आएको छ । आगामी दिनहरूमा पनि यस्ता सार्थक सामाजिक अभियानलाई निरन्तरता दिने योजना रहेको बैंकले जनाएको छ ।