News Portal

  • सिद्धार्थ बैंकको इजी बैंकः एकै प्लेटफर्मबाट बहुआयामिक डिजिटल सेवा

    आर्थीकसंसार संवाददाता२९ जेठ, २०८२
    २६ पटक
    २९ जेठ, २०८२

    काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले डिजिटलमा ठूलो लगानी गरिरहेका छन् ।ग्राहकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूले डिजिटलमा लगानी बढाइरहेको देखिन्छन् । तर, बैंकहरूले डिजिटलमा लगानी बढाइरहेको भएपनि ग्राहकले प्रडक्टहरू सहज रूपमा चलाउन सकिरहेका हुँदैनन् । सिद्धार्थ बैंकले ग्राहकलाई झण्झटमुक्त हुने गरी सेवा दिनका लागि आफ्नो मोबाइल बैंकलाई थप परिष्कृत बनाउँदै लगिरहेको देखिन्छ ।

    बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा ‘इजी बैंक’लाई थप परिष्कृत र ग्राहकमैत्री बनाएको छ । इजी बैंक नामक अनलाइन प्लेटफर्मबाट बैंकले ग्राहकहरूलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ । डिजिटल बैंकिङमा अग्रणी सिद्धार्थ बैंकले एपमार्फत खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाईसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई थप सहज बनाएको हो ।

    बैंकको मोबाइल एपमा लगइन गरेपछि ‘सर्भिस रिक्वेस्ट’ अन्तर्गत सुरुमा देखिने ‘इजि बैंक’ आइकन क्लिक गर्नासाथ प्रमुख पाँच सेवा खाता विवरण हेर्न मिल्ने, एपबाटै ऋण, ग्राहक सेवाको सुविधा, केवाइसी अपडेट र कार्डसम्बन्धी सम्पूर्ण सेवा  रहेका छन् ।

    खाता विवरण हेर्न मिल्ने

    ग्राहकले ‘अकाउन्ट डिटेल’ मार्फत आफ्नो बैंक खातासम्बन्धी सम्पूर्ण जानकारीहरू सजिलैसँग प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूले चल्ती खाता, बचत खाता, मुद्दती निक्षेप सम्बन्धी विवरणहरूका साथै लिएको कर्जाको स्थिति, नन्–फण्डेड कर्जाको विवरण र बैंकबाट जारी भएका सबै चेकहरूको पूर्ण विवरण सहज रूपमा अवलोकन गर्न सकिने बैंकले जनाएको छ । जसबाट ग्राहकलाई आफ्नो वित्तीय अवस्थाबारे स्पष्ट जानकारी राख्न मद्दत पुग्ने बैंकको दाबी छ ।

    मोबाइल एपबाटै ऋण पाइने 

    अबदेखि मुद्दती निक्षेप धितो राखेर कर्जा लिन शाखा जानुपर्ने बाध्यता हटेको छ । ग्राहकले मोबाइल एपमार्फत आवश्यक विवरण भरेर मुद्दतीको ९० प्रतिशत कर्जा माग गर्न सक्नेछन् । यस्तो रकम स्वीकृत हुने बित्तिकै ग्राहकले आफ्नो बचत खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    साथै मर्चेन्ट क्युआर सञ्चालकहरूले पनि मोबाइल एप मार्फत नियमअनुसार कर्जा प्राप्त गर्न सक्ने छन् । सिद्धार्थ बैंकको इजी बैंक मोबाइल एपमार्फत ग्राहकहरूले शाखामा नगइकनै सजिलै क्रेडिट कार्ड ऋणको इएमआई सुविधा लिन सक्नेछन् । ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको बाँकी रकमलाई किस्ता प्रणालीमा परिवर्तन गरी सहज रूपमा तिर्न सक्ने बैंकले जनाएको छ ।

    चेक रोक्का र खाता ब्लक गर्न सकिने 

    कुनै चेक हराएमा वा रोक्नु परेमा चेक नम्बर र कारण उल्लेख गरी तुरुन्तै रोक्का गर्न सकिने व्यवस्था मोबाइल एपमा रहेको छ । कारोबारका क्रममा कुनै कारणले आफ्नो खाता ब्लक गर्नु पर्ने भएमा ब्लकको सुविधा लिन सकिनेछ । ग्राहकले एक प्रकारको बचत खाताबाट अर्को प्रकारको बचत खातामा परिवर्तन गर्नु परेमा सोही एपबाट पाइने भएकाले अर्को कुनै निवेदन आवश्यक नपर्ने बैंकले जनाएको छ ।

    केवाइसी अपडेट 

    बैंकले ग्राहक पहिचान सम्बन्धी व्यक्तिगत विवरण अद्यावधिक गर्न ‘अनलाइन केवाइसी’ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत ग्राहकले वार्षिक आम्दानी, शैक्षिक योग्यता, प्यान नम्बर, वैवाहिक तथा पारिवारिक विवरण, पेशा, ठेगाना, आम्दानीका स्रोत लगायतका विवरण तथा आवश्यक कागजात डिजिटल रूपमा अपडेट गर्न सक्ने छन् । साथै ग्राहकले शाखामा उपस्थित नभई एपबाटै सुरक्षित र सहज रूपमा राष्ट्रिय परिचयपत्र (एनआइडी) नम्बर पनि अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

    कार्डसम्बन्धी सम्पूर्ण सेवा 

    इजीबैंक मोबाइल बैंकिङ एपमार्फत ग्राहकले आफ्ना कार्डहरू सरल रूपमा व्यवस्थापन गर्न सक्नेछन् । एपको मद्दतले कार्ड ब्लक वा अनब्लक गर्नुका साथै पिन बिर्सिएको अवस्थामा सजिलै पुनः जारी गर्न सकिन्छ । यसले ग्राहकलाई सुरक्षित र सहज डिजिटल सेवा प्रदान गर्दछ । यसका अतिरिक्त, ग्राहकले आफ्नो क्रेडिट कार्ड विवरणलाई मोबाइल बैंकिङ एपमा लिंक गरेर इजी बैंक सेवामार्फत क्रेडिट कार्ड स्टेटमेन्ट विवरण पनि जाँच गर्न सक्ने छन् ।

    कम्प्युटरबाट पनि चलाउन मिल्ने

    बैंकको उक्त एप मोबाइलमा मात्रै नभइ ल्यापटप तथा कम्प्युटरबाट पनि सहज रुपमा चलाएर सेवा लिन सकिने बैंकले जनाएको छ । जसका लागि बैंकको वेबसाइट मार्फत ‘लग इन’ आइकन क्लिक गरी ‘इजी बैंक’मा जानुपर्ने हुन्छ । जसमा अकाउन्ट सर्भिस, कार्ड सर्भिस र डिम्याट सर्भिस सेवा पाउन सकिन्छ ।

    वेबमा के-के छन् सुविधा ?

    यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरू एकै ठाउँमा संकलन गरिएको छ । वेबसाइटबाट अकाउन्ट सभिर्स, कार्ड सभिर्स र डिम्याट सर्भिस लगायत विभिन्न सेवा एउटै ठाउँबाट लिन सकिने बैंकले जनाएको छ ।

    अकाउन्ट सर्भिस

    बैंकका अनुसार यस सेवाअन्तर्गत बैंक खाता खोल्ने, मुद्दती खाता खोल्ने, भिडियो बैंकिङ-अनलाइन एकाउन्ट एक्टिभेसन, प्यान अपडेट र ग्राहक जानकारी प्रमाणीकरण जस्ता सेवा उपलब्ध रहेका छन् । ग्राहकले अनलाइनबाट खाता खोल्ने बित्तिकै खाता सक्रिय भएको हुँदैन । एक पटक नजिकको शाखा कार्यालयमा सम्बन्धित व्यक्ति पुग्नै पर्ने हुन्छ । तर, बैंकले अनलाइनबाट खाता खोल्नेहरूका लागि शाखा कार्यालयमा जान नसक्ने अवस्थामा भिडियो केवाइसीको पनि सुविधा रहेको जनाएको छ । जसले अनलाइनबाट खुलेका खातालाई पूर्ण रूपमा चालु गर्न मद्दत गर्नेछ । साथै बैंकको कुनै पनि शाखामा उपस्थित नभइ घरमै बसीबसी प्यान अपडेट, ग्राहक जानकारी प्रमाणीकरण अन्तर्गत ग्राहकको मोबाइल नम्बर र इमेल अपडेट गर्न सकिनेछ ।

    कार्ड सर्भिस

    कार्ड सर्भिस सेवाअन्तर्गत बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउनेछ । यसका लागि बैंकले नयाँ क्रेडिट कार्ड वा डेबिट कार्डका लागि आवेदन दिन सकिनेछ । अब क्रेडिट र डेबिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगिकन घरबाट क्रेडिट तथा डेबिट कार्ड आवेदन दिन सक्नेछन् ।

    जसका लागि ग्राहकले सुरुमा बैंकको वेबसाइटमा गएर आवश्यक विवरण भर्नुपर्छ । सहज रुपमा अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । पहिला नै कार्ड लिएर म्याद सकिएका ग्राहकले पनि उक्त सेवामार्फत नवीकरण तथा प्रतिस्थापन गर्न सकिने बैंकले जनाएको छ । कार्ड नवीकरण गर्दा ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखा छान्नुपर्ने हुन्छ । कार्ड बनेपछि ग्राहकले त्यसरी छानेको शाखामै आइपुगेछ । बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहक मैत्री बनाउँदै समयको बचत हुने विश्वास लिएको छ ।

    डिम्याट सर्भिस

    डिम्याट सुविधा अन्तर्गत ग्राहकले डिम्याट खाता खोल्न र सुचारु गर्न बैंकसम्म पुग्नु पर्दैन । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाट डिम्याट खाताका लागि निवेदन दिन सक्नेछन् । ग्राहकहरूले बैंकको वेबसाइटमा गई वा सोझै सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलको लिंकमा गई आवश्यक विवरण भर्न सकिने बैंकले जनाएको छ । आईपीओमा आवेदन दिँदा सीआरएन नम्बर बिर्सिएको छ भने इजी बैंक मार्फत सीआरएन नम्बर हेर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्