
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) चितवनसँगको सहकार्यमा बैंकिङ एन्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ।
पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दूरी घटाउने उद्देश्यले आयोजित कार्यक्रममा चितवनका ६० जनाभन्दा बढी युवा व्यवसायीको सहभागिता थियो। पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेको मध्यस्थतामा भएको कार्यक्रममा कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसीए विमन कार्की र नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्वअध्यक्ष तथा व्यवसायी सूर्यभत्त अधिकारी वक्ताका रुपमा रहेका थिए।
कार्यक्रममा कार्कीले आर्थिक चक्रका हरेक चरणमा बैंक र व्यवसायीबीच फरक मत रहने भए पनि प्रचलित कानुन र नियमको अधीनमा नरहने व्यवसायीलाई आर्थिक रुपमा दबाब पर्ने भएकोले नेपाल राष्ट्र बैंक तथा बैंकहरुले निर्धारण गरेका नियमहरुलाई पालना गरी आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने तथा वित्तीय विवरणहरुको पारदर्शिता कायम गर्न यस्ता कार्यक्रममार्फत व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा युवा व्यवसायी अधिकारीले व्यवसायीहरु कोभिड १९ को चपेटाबाट अगाडि बढ्न नपाउँदै नियमनकारी निकायका विभिन्न नीतिहरुले व्यवसायीहरु थप आक्रान्त बनेको तथा व्यवसायबाट पलायन हुन सक्ने भएकोले बैंकहरुले साना तथा मझौला व्यवसायीलाई संरक्षण गर्नुपर्ने जिकिर गरे।
कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरुलाई असहज महसुस भए पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताए।
कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले होटल व्यवसायहरु कोभिड १९ देखि नै थलिएको हुँदा बैंकहरुले विशेष माया गर्नुपर्ने धारणा राखे। चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले नियमनकारी निकायको कडाइ, कोभिड १९ पश्चातको कर्जा विस्तार, सडक संजालको ढिलो निर्माण, युवा जनशक्तिको विदेश पलायनलगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरु पलायन हुन सक्ने भएकोले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुले उक्त विषयमा ध्यान दिनुपर्ने बताए।
युवा व्यवसायी अर्जुन रानाभाट, निरञ्जन न्यौपाने, पत्रकार दीपेन्द्र अधिकारीलगायतले कार्यक्रमका वक्ताहरुलाई आफ्ना जिज्ञाशा राखेका थिए भने वक्ताहरुले ती जिज्ञाशामाथि प्रकाश पारेका थिए।
नेपाल युवा उद्यमी मञ्च चितवनका प्रथम उपाध्यक्ष निशान पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मञ्चका द्वितीय उपाध्यक्ष सन्तोष कँडेलले स्वागत मन्तव्य राखेका थिए। कामना सेवा विकास बैंकका ब्रान्डिङ विभाग प्रमुख सुशील पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।
कार्यक्रमको समापनमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले बैंक र व्यवसायी विचको सुमधुर सम्बन्धले बैंकिङ सेवा तथा उद्योग, व्यवसायहरु सफल हुने भएकोले आगामी दिनमा थप सहकार्य गर्नुपर्ने बताए।