News Portal

  • सिटिजन्स बैंकमा मोबाइलबाट खाता खोल्दा ०.२५ प्रतिशत बढी ब्याज

    आर्थीकसंसार संवाददाता१० पुष, २०८१
    १७ पटक
    १० पुष, २०८१

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलनका लागि विभिन्न योजना ल्याउँछन् । र, बैंकहरूले निक्षेप संकलनका लागि नयाँ नयाँ विकल्प सोच्न थाल्छन् ।  प्रविधिको विकाससँगै बैंकहरूले पनि सोही अनुसारका निक्षेप संकलनका योजना तथा प्रडक्ट ल्याउन थालेका छन् । सोही अनुरुप डिजिटल माध्यमलाई प्राथमिकतामा राखेर सिटिजन्स बैंकले ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना ल्याएको। छ ।

    बैंकले निक्षेपतर्फका ग्राहकहरूलाई लक्षित गरी डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको हो । डिजिटल माध्यमको विकाससँगै लागत र समयको बचत गर्ने हेतुले बैंकको उक्त डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको बैंकका डिपोजिट मार्केटिङ हेड पारस विक्रम थापा बताउँछन् । ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त गराउन बैंकले डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको उनको भनाइ छ ।

    ‘बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्ने मुख्य उद्देश्य हो, निक्षेप संकलनका लागि मात्रै नभई ग्राहकलाई डिजिटलमैत्री बनाउन पनि यसले टेवा पुर्याउनेछ,’ उनले भने, ‘खाता खोलेपछि डिजिटलबाट कारोबार गराउने उद्देश्य छ । डिजिटल कारोबारमा प्रोत्साहन गर्न र शतप्रतिशत कारोबार डिजिटल माध्यमबाटै गराउने योजना छ ।’

    बैंकिङ प्रणाली मोबाइल बैंकिङमा रुपान्तरण भइरहेको र ग्राहकलाई डिजिटल कारोबारमा अझै अभ्यस्त बनाउन डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको उनले बताए । यसबाट ग्राहकहरूले डिजिटल बैंकिङ र मोबाइल कारोबारका विषयमा धेरै कुरा सिक्न सक्ने र आकर्षक ब्याज पनि रहेको उनको भनाइ ।

    के हो डिजिटल फिक्स्ड डिपोजिट ?

    उनका अनुसार डिजिटल फिक्स्ड डिपोजिट खाता खोलेको एक वर्षसम्म अहिले दिएको ब्याजदर कायम नै रहन्छ । यो फिक्स्ड डिपोजिट खातामा सामान्य खाताभन्दा अलिकति बढी ब्याजदर तोक्ने गरिएको उनले बताए । बैंकका शाखा कार्यालयभन्दा मोबाइल बैंकिङबाटै खाता खोल्दा ग्राहकले बढी ब्याज पाउने उनले जानकारी दिए ।

    ‘मोबाइल बैंकिङबाट मुद्दती निक्षेप खाता खोल्दा बैंकले ५.६५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । अब तपाईहरू कुनै पनि कारोबारका लागि बैंकसम्म धाउनुपर्दैन, सबै मोबाइलबाटै हुन्छ, घरमै बसेर बैंकिङ कारोबार गरौं भनेर ग्राहकलाई प्रोत्साहित गर्न खोजिएको हो,’ थापाले भने ।

    साथै पैसा झिक्नका लागि चेक पनि काटिरहनु नपर्ने उनले बताए । खातामा भएको पैसा मोबाइल बैकिङमार्फत एटीएमबाट सहजै निकाल्न सकिन्छ । उनका अनुसार एटीएमबाट पैसा निकाल्न कार्ड पनि चाहिँदैन । बैंकले एउटा अप्सन मोबाइल बैंकिङमा राखेको छ । पैसा चाहियो भने त्यसैमा एउटा ओटीपी नम्बर आउँछ । त्यो लगेर हाल्ने बित्तिकै पैसा आउने उनले बताए ।

    डिजिटल फिक्स्ड डिपोजिट खाता कसरी खोल्न खोल्ने ?

    सबैभन्दा पहिला सिटिजन्स बैंकको मोबाइल एपमा लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि मोर अप्सनमा क्लिक गरेर ‘फिक्स्ड डिपोजिट’ लेखिए अप्सनमा क्लिक गर्नुपर्छ । त्यहाँ देखिएका विभिन्न योजनाहरूमध्ये आफूले खोल्न चाहेको योजना, जम्मा गर्ने अवधि र आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गर्नुपर्ने हुन्छ ।

    यी सबै काम गरेपछि आफ्नो इमेल ठेगाना दिएर प्रोसिडमा क्लिक गर्नुपर्छ । त्यसपछि उपलब्ध गराएका सबै विवरण ठिक भएनभएको बारे पुर्नचेक गर्नुपर्ने हुन्छ । यदि सबै विवरण ठिक भएको खण्डमा बैंकले ग्राहकको सो इमेल ठेगानामा मुद्दती खाता सुचारु भएको सन्देश पठाउनेछ । मुद्दतीको रिसद पनि सोहि इमेल ठेगानामा जानुका सा‌‌थेै मोबाइल एपमा पनि मुद्दतीको रिसद देखिन्छ।

    ‘मोबाइलबाटै खाता खोल्छु र कारोबार गर्छु भन्ने ग्राहकका लागि ०.२५ प्रतिशत बढी ब्याज पाउनुहुन्छ,’ उनले भने ।

    प्रतिकृया दिनुहोस्