
काठमाडौं । निष्क्रिय बैंक खातामा रहेको पैसा २० वर्षसम्म हकदाबी पाइने व्यवस्था रहेको छ।
नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा निष्क्रिय बैंक खातामा रहेको पैसा २० वर्षसम्म हकदाबी गर्न पाइने व्यवस्था रहेको जानकारी गराएको हो। २० वर्षसम्म पनि बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको त्यस्ता निष्क्रिय खातामा रहेको निक्षेप रकम राष्ट्र बैंकको विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ।
बैंक तथा वित्तीय संस्थाले कारोबार नभएका बचत खाताको हकमा ३ वर्ष एवं कल खाता र चल्ती खाताको हकमा १ वर्षभन्दा बढी समयावधि व्यतीत भएपछि त्यस्ता खाता निष्क्रिय गर्नुपर्ने व्यवस्था रहेको छ। यसरी खाता निष्क्रिय भएपश्चात खाता सक्रिय गर्नुपर्दा बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचानसम्बन्धी नीतिबमोजिम सक्रिय गराउनुपर्दछ। साथै, अद्यावधिक भएको खाता सक्रिय गर्नुपर्दा सम्बन्धित ग्राहकले निवेदनबाहेक अन्य कागजात पेस गर्न आवश्यक पर्दैन।
विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी वा गराई सोको पुष्टि गर्ने व्यवस्था गरी खातालाई सक्रिय गर्न सकिने व्यवस्था पनि रहेको छ। निष्क्रिय खाता सक्रिय गराउँदा ग्राहकले कुनै शुल्क तिर्नुपर्दैन।