News Portal

  • राष्ट्रिय वाणिज्य बैंक अग्रणी बैंक बन्नुपर्छ : अर्थमन्त्री पौडेल

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०८१
    ४३ पटक
    १६ मंसिर, २०८१

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरी कार्य गर्नुपर्ने बताएका छन् ।

    राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

    उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे । सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रीत गरेर सेवाग्राहीको बढि रुचाईएको बैंक बनाउन आग्रह गरेका हुन् ।

    कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको बताए । उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैंकका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दावी गरे ।

    यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैंकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए । उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग  बैंकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए । प्रतिस्प्रर्धी बजारको माग अनुसार बैंकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैँकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताए ।

    साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै सीईओले बैंकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैंक उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बावजुद बैंकले आफ्ना सूचकहरुलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराए ।

    प्रतिकृया दिनुहोस्