काठमाडौं । गरिमा विकास बैंक स्थापनाको १७ बर्ष पूरा गरि १८औं वर्षमा प्रवेश गरेको छ । शिक्षण, इन्जिनियरियङ, चिकित्सा, बैंकिङ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूबाट १७ वर्ष अगाडि बैंकको स्थापना भएको थियो ।
कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको हो । यसले, २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो । २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका-३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले त्यस समयको निलगिरी विकास बैंक र शुभेच्छा विकास बैंकसँग मर्जर गरेपश्चात् २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको हो ।
बैंकमा विविध पहिचान र अनुभवी सदस्यहरूको बाहुल्यता छ । जुन विविधतालाई बैंकले आफ्नो सबल पक्ष मानेको छ । बदलिँदो समय, बजार सुहाउँदो र प्रविधिको अधिकतम उपयोग गर्दै बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्याङ्क अनुसार बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ, सञ्चित नाफा ६८ करोड ४४ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यसअवधिमा बैंकले ८३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । तीन महिनामा २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको बैंकको खराब कर्जा ३.८२ प्रतिशत रहेको छ ।