News Portal

  • सिटिजन्स बैंक अझै गाभ्ने र गाभिने बाटोमा, विदेशीसँग रणनीतिक साझेदारीमा जान पनि इच्छुक

    आर्थीकसंसार संवाददाता२१ असोज, २०८१
    २७ पटक
    २१ असोज, २०८१

    काठमाडौं । सिटिजन्स बैंकले मर्जर प्रस्ताव ल्याएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले मर्जर तथा विदेशी रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव साधारण सभाबाट पारित गर्ने भएको हो ।

    बैंकको १८औँ वार्षिक साधारण सभा कात्तिक १२ गते बिहान ९ बजे अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बस्नेछ । बैंकको सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्ने, प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । ।

    बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।

    यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई सञ्चालकको बैठक भत्ता तथा सुविधा वृद्धि गर्ने गरी नियमावलीमा संशोधन प्रस्ताव पारित गर्नेछ ।

    बैंकको संस्थापक सेयरधनीकोतर्फबाट सञ्चालकमा अनिल ज्ञवालीलाई नियुक्ति गरिएको निर्णय अनुमोदन गर्ने, संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्