News Portal

  • राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज

    आर्थीकसंसार संवाददाता२४ साउन, २०८१
    ३८४ पटक
    २४ साउन, २०८१

    काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज गरेको छ । मन्त्रिपरिषद्का निर्णय जानकारी गराउँदै ‘राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गर्ने’ निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    उक्त निर्देशिका खारेज भएसँगै हाललाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पद नै खारेजीमा परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० जेठमा राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरी तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई नियुक्त गरेको थियो ।

    ३ महिनापछि अवकाश पाउन लागेका बेला वैरागीले मुख्यसचिवबाट राजीनामा दिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकारको पदमा नियुक्ति पाएका थिए । तर, नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि बैरागीले राजीनामा दिइसकेका छन् ।

    राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी संघीय ऐन आउन नै बाँकी छ । पुरानो ऐनमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहने व्यवस्था छैन ।

    प्रतिकृया दिनुहोस्