काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा सामान्य गिरावट देखिएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १०.१३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ३ दशमलव १५ प्रतिशतबाट बढेर ४ दशमलव ३७ प्रतिशत पुगेको छ। ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ ।
यस अवधिमा बैंकको निक्षेप १४ दशमलव ३४ प्रतिशत बढेको छ । कर्जा लगानी ४ दशमलव २३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ।