काठमाडौं । मर्जर प्रकृयामा रहेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय बीमा समितिले एक आपसमा गाभ्न तथा गाभिनको लागि दुई कम्पनीलाई असार ८ गते अन्तिम स्वीकृति दिएको हो ।
मर्जरमा जान दुबै कम्पनीले असार २ गते एकैदिन वार्षिक साधारण सभा गरि बीमा समितिको स्वीकृति मागेका थिए । समितिबाट स्वीकृति पाएका यी दुबै कम्पनीले एकीकृत कारोबार शुरू गर्ने छन् । २०७९ साउनदेखि नै ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरू गर्ने इन्स्योरेन्सले जानकारी गराएको छ ।
दुई कम्पनी १०० बराबर ८५ को स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ नाघ्ने छ ।
दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यस मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ । र, यसबाट नेपालको बीमा क्षेत्रको विश्वशनियतामा अभिवृद्धि भई समग्र बीमा क्षेत्र नै सुद्धढ हुने कम्पनीको विश्वास छ ।