
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबीआई बैंकबीच विद्युतीय कारोबारसम्बन्धी रणनीतिक साझेदारी भएको छ ।
सम्झौता पश्चात अब नेपाल एसबीआई बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् । त्यस्तै, इसेवा प्रयोगकर्ताले वालेटमा भएको रकम नेपाल एसबीआई बैंक खातामा ट्रान्सफर गर्न सक्नेछन् ।
दुवै संस्थाबीच भएको यो सहकार्यले ग्राहकलाई थप सहजता, पहुँच र डिजिटल वित्तीय कारोबारमा सुरक्षा दिने अपेक्षा गरिएको छ । एक औपचारिक कार्यक्रममार्फत दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेका हुन् ।
यस साझेदारीसँगै इसेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ५१ पुगेको छ। इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यस सम्झौताले ग्राहकलाई थप सरल र सहज सेवा प्रदान गर्ने बताए ।
‘यो सहकार्यले कारोबार प्रक्रियामा सहजता ल्याउने, ग्राहकको समय बचत गर्ने, र डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउनेछ,’ खड्काले भने । उनले ग्राहक हितलाई केन्द्रमा राख्दै आगामी दिनमा यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।