News Portal

  • अर्थतन्त्रलाई मजबुत बनाउन नेपाल सहकारी बैंक अपरिहार्य: उपसभापति विमलेन्द्र निधी

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७७
    २५२५ पटक
    १७ माघ, २०७७

    काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन नेपाल सहकारी बैंक अपरिहार्य रहेको बताएका छन् । एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्र समेट्न नसकेको टिप्पणी गर्दै आवश्यकता र आधार पुगेका सबैलाई बैंक बनाउन सकिने बताए । प्रस्तावित नेपाल सहकारी बैंकको प्रारम्भिक भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधीले करिब एक हजार सदस्यता दर्ता भएको बैंकलाई कुनै पनि हालतमा रोक्न नसक्ने ठोकुवा गरे । निधीले भने– ‘यो बैंक सबैको लागि आवश्यकता छ, तपाईहरु दर्ता प्रक्रियामा जानुस् कसैले रोक्ने कुरै छैन, सहकारी बैंक स्थापना भएरै छाड्नेछ ।’ उनले जननेता विपी कोइरालाले नेपालमा अर्थतन्त्र प्रवेश गराएको दाबी गर्दै मुलुकभर सहकारी फष्टाएको स्मरण गर्दै अब मुलुकमा अर्काे सहकारी बैंक स्थापना भइसकेको जिकिर गरे ।
    बैंक दर्ता प्रक्रियाले लोकतन्त्र र अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै तत्काल दर्ता प्रक्रिया सुरु गर्न आग्रह गरे । राष्ट्रिय सहकारी बैंकका सञ्चालकले नेपाल सहकारी बैंक खोल्न दिन नहुने भन्दै आफूलाई सहयोग नगर्न आग्रह गरेको खुलासा गर्दै उनले भने, ‘केही केही नेपाल सहकारी बैंकको विरुद्धमा लागेका छन्, म भन्छु यसले केही समस्या पार्दैन प्रक्रिया थाल्नुस् सिङ्गो पार्टीको पूर्ण सहयोग रहनेछ ।’
    प्रस्तावित नेपाल सहकारी बैंक स्थापना गर्नुपर्ने कारणबारे औंल्याउँदै बैक स्थापना गर्न गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैंकको ऐनमा सहकारी बैंकसम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई बचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, बिना धितो ठूलो रकम प्रवाह गर्नु, बैंक सञ्चालनमा राजनीति हवी हुनु, कर्जा लगानीमा विभेद गर्नुलगायतका कारणले नयाँ सहकारी बैंकको आवश्यकता महसुस गरी एक हजारभन्दा बढी सदस्य संस्थाको भेला आयोजना गर्नुपरेको बताए । उनले सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैक दर्ता प्रक्रिया अघि बढाइएको जानकारी गराए । उनले भने, ‘करिब एक वर्ष अघिदेखि प्रक्रिया सुरु गरेका थियौं अब दर्ता प्रक्रिया सुरु गर्नेछौं । उनले प्रारम्भिक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्थाका एक हजारभन्दा बढी सदस्य उपस्थित भएर ठूलो सफलता भएको बताउँदै अब बैंक दर्ता प्रक्रियामा कसैले अवरोध गर्न नसक्ने जिकिर गरे ।
    एकमात्र सहकारी बैकले प्रभावकारी सेवा दिन नसकेको कारण बाध्य भएर नया बैंक दर्ता प्रक्रिया सुरु गरेको उल्लेख गर्दै संयोजक भण्डारीले भने, ‘नेपाल सहकारी बैक जस्तै प्रकृतिका अब ५ वटा बैंक खुल्नुपर्छ । ३४ हजारभन्दा बढी सहकारी मध्य सक्रिय कारोबार गर्ने सहकारीको संख्या ३० हजारको संख्यामा रहेको अवस्थामा सबैलाई व्यवस्थित सेवा दिन नयाँ बैंकको आवश्यक रहेको उल्लेख गरे ।’
    तथ्याङ्क हेर्दा नेपालमा ८ खर्ब भन्दा बढीको निक्षेप संकलन, १ खर्बभन्दा बढी सेयर पुँजी संकलन, ७३ लाख भन्दा बढीलाई वित्तीय सेवा र सुविधा, ३ लाख बढीलाई रोजगारीको प्रदान र कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत भन्दा बढी योगदान दिएको सहकारी क्षेत्रमा नयाँ बैंकको आवश्यक महसुस गरी देशैभरबाट आएका सहकारी सदस्यको सहयोगमा भेला आयोजना गरिएको संयोजक भण्डारीको भनाई छ ।
    भेलामा पूर्वमन्त्री एवं नेपाली काँग्रेस सहकारी विभाग प्रमुख आनन्द ढुंगानाले मुलुकमा एउटा मात्र सहकारी बैंकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैंक स्थापना गर्ने कामको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । भेलामा पूर्व अर्थराज्यमन्त्री एवं नेपालीका काँग्रेसका नेता उदयशम्सेर राणा, पूर्व गभर्नर डा. चिरञ्जीवि नेपाल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्र नारायण निधी मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाललगायतले अहिलेको अवस्थामा एउटा मात्र सहकारी बैंकले काम गर्न नसकेको सो बैंकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैंक स्थापना गर्ने काम थालेकोमा शुभकामना व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्