News Portal

  • एडीबीद्वारा विद्युतीय ग्रीड आधुनिकीकरणका लागि ऋण प्रदान

    आर्थीकसंसार संवाददाता१५ पौष, २०७७
    २६४८ पटक
    १५ पौष, २०७७

    काठमाडौं । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
    अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन् ।
    सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवम् वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।
    विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिव २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ ।
    विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने ऊर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने ऊर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । यो आयोजनाको कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत प्राधिकरण हो ।

    प्रतिकृया दिनुहोस्