News Portal

  • एनएमबि बैंक ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्डबाट सम्मानित

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७७
    १६६८ पटक
    १७ मंसिर, २०७७

    काठमाडौं । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष–२०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरेको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रोपटक प्राप्त गरेको हो ।
    बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न सहर तथा ग्रामीण भेगहरुमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यसैक्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य बृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ ।
    एनएमबि बैंक Global Alliance for Banking on Values (GABV) को नेपालमा एक मात्रै ‘क’ वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दीगो मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवद्र्धनमा लागि परेको छ । जसकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था Partnership for Carbon Accounting Financials (PCAF) को स्टिअरिङ्ग कमिटिको सदस्य बैंकको रुपमा ABN AMRO, Morgan Stanley जस्ता संसारकै उत्कृष्ट बैंकहरुको साथ साझा एजेण्डामा काम गर्ने मौका प्राप्त भएको छ ।
    एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो । जसको फलस्वरुप बैंक कठिन समयमा पनि मुलुकभित्र उल्लेख्य वैदेशिक लगानी भित्र्याउन सफल भएको छ । यस बैंकले नेपालमा वातावरणीय तथा सामाजीक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ । बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्याङ्कन गरिन्छ ।
    विगत चार वर्षमा यस बैंकलाई तेस्रोपटक उक्त गरिमामय उपाधिबाट सम्मानित गरिएकोमा हामी अन्यन्तै हर्ष विभोर भएका छौं । विश्व समुदाय नै कोभिड–१९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफ दि इयर–२०२० को सम्मान हाम्रा कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, काम प्रतिको समर्पण, दीगो व्यवसाय विस्तार प्रतिको ऐक्यवद्घताका साथै यस बैंकको आदरणीय सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरुको अनवरत सहयोगको प्रतिफल हो ।
    एनएमबि बैंकले फरक मूलधारको बैंकमा स्थापना हुन गरेका रणनीतिक साझेदारी, उत्तरदायी निर्णय, कोभिड–१९ ले असर पारेको वित्त क्षेत्रमा ग्राहकहरुको वित्तीय अधिकार एवं निर्वाध सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न बैंकिङ्ग क्षेत्रमै उदाहरणीय डिजिटल प्लाटफर्ममा आधारित विभिन्न सेवाहरुको प्रारम्भ तथा यस असहज परिस्थितिमा सामाजिक उत्थान एवम् स्वास्थ्य सुरक्षाका लागि गरेको अनेकन योगदान तथा प्रयासहरु नै यस बैंकको सफलताका कारकहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्