News Portal

  • सानिमा जनरल इन्स्योरेन्सको आईपीओको बाँडफाँड

    २ लाख ७३ हजारले पाए सेयर

    आर्थीकसंसार संवाददाता३० असोज, २०७७
    १२९२ पटक
    ३० असोज, २०७७

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को असोज ३० गते बाँडफाँड भएको छ । उक्त आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।
    क्यापिटलका अनुसार भाग्यमानी २ लाख ७३ हजारले मात्र कम्पनीको सेयर हात पारेका छन् । उनीहरुले गोलाप्रथाबाट १०÷१० कित्ताको दरले कम्पनीको सेयर हात पारेका हुन् ।
    आईपीओमा कूल ८ लाख ६६ हजार ९ सय ५ जना आवेदकहरुबाट एक करोड ८५ लाख ९१ हजार ५ सय २० कित्ताको लागि सेयर आवेदन परेको थियो । जसमध्ये ३३ सय ६० जना आवेदकहरुबाट ६२ हजार २ सय ८० कित्ताको लागि परेको आवेदन दोहोरो भएकाले उक्त आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
    बाँकी रितपूर्वक प्राप्त ८ लाख ६३ हजार ५ सय ८५ वटा आवेदकबाट एक करोड ८५ लाख २९ हजार २ सय ४० कित्ताका लागि आवेदन प्राप्त भएको छ । जसमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजार जनालाई १०÷१० कित्ताको दरले बाँडफाँड गरिएको हो । यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ५ लाख ९० हजार बढीको हात खाली भएको छ ।
    कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो ।
    कूल ३० लाख कित्ता साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेको हो । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था रहेको थियो । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्