News Portal

  • बजेटमा पुँजीगत खर्च समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने

    आर्थीकसंसार संवाददाता३ भदौ, २०७८
    १४७३ पटक
    ३ भदौ, २०७८

    काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताएका छन् ।
    आर्थिक वर्ष २०७७÷७८ मा भएको पुँजीगत खर्च पनि विगत सरहनै न्यून रहेकोले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने र प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनु पर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा रहेको बताए ।
    नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा कार्य समिति सदस्य र अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीबीच भदौ ३ गते भएको छलफल कार्यक्रममा अध्यक्ष मल्लले कृषि क्षेत्रलाई प्रोत्साहन दिन कृषिमा यान्त्रीकरण, वैज्ञानिकीकरण एवम व्यावसायीकरण हुनुपर्ने बताएका छन् । र, कृषि उत्पादन ढुवानीको लागि भन्सार सहुलियतमा गाडीको सुविधा उपलब्ध हुन सकेमा ढुवानी लागतमा कमी भइ आन्तरिक तथा वाह्य व्यवसाय बृद्धि हुन जाने र कृषकहरुको उत्पादन बजारीकरण सुव्यवस्थित हुन जाने चेम्वरको धारणा रहेको उनले बताए ।
    सो अवसरमा अध्यक्ष मल्लले बीमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियम वापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिँदै आएकोमा हाल चेकबाट नगद जम्मा भएपछि मात्र मान्यता दिने व्यवस्था गरेकाले यसबाट व्यवसायमा सहजीकरण नहुने बताएका छन् । त्यसैले साबिक व्यवस्था अनुसार नै चेक भुक्तानीलाई नै मान्यता दिनुपर्नेमा जोड दिँदै राजश्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्वको लागि पनि आग्रह गरेका छन् ।
    सो बाहेक रुग्ण उद्योगलाई सहुलियत बैंक ब्याजदर, कृषि उपजको बजार सुरक्षण तथा महँगी नियन्त्रणका लागि २ वर्षको लागि कृषि उत्पादनको बाइ व्याकअन्तर्गत बफर स्टक राख्ने, निर्यातलाई प्रोत्साहन दिन निर्यात अनुदान, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी, लगानीको स्रोतको वैधतामा सरलीकरण, विदेशी लगानी, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह, घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्सको व्यवस्थामा पनि चेम्वरको तर्फबाट धारणा राखेका छन् ।
    अर्थमन्त्रालयका सचिव मधु कुमार मरासिनीले उक्त अवसरमा चेम्वरबाट प्रस्तुत विषयहरुलाई सकारात्मक रुपमा लिएको र आम नागरिक, व्यवसायी र सरकारलाई हित हुने गरी व्यवसाय सञ्चालनमा जोड दिने बताए । साथै, उनले व्यवसायीहरुको आत्म विश्वास बढाउन सरकार कटिवद्ध रहेको बताए ।
    सो अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, दीपक श्रेष्ठ, उर्मिला श्रेष्ठ तथा चेम्बर कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति पर्शुराम दाहाल तथा वाणिज्य तथा व्यापार सहजीकरण समितिका सभापति निरज राई र कार्य समिति सदस्य सुवास संघाइकोे पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्