News Portal

  • बैंकर प्रवेश रिजाललाई जीसीआइएफ पुरस्कार प्रदान

    आर्थीकसंसार संवाददाता१७ असार, २०७८
    ८९३ पटक
    १७ असार, २०७८

    काठमाडौं । हाल अमेरिकामा कार्यरत युवा बैंकर प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेंस एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार प्राप्त गरेका छन् ।
    मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरष्कार प्रदान गर्ने गरेको छ ।
    ‘हामीले पुरष्कारको लागि छनोट गर्दा बीमा तथा वित्त क्षेत्रमा कुनै व्यक्ति वा कम्पनीले पारेको प्रभाव, नवप्रवर्तन, भविष्यको तयारी तथा बजारमा माग जस्ता मापदण्डको आधारमा मूल्यांकन गर्छौं । युवा बैंकर प्रवेश रिजाल, ती सबै मापदण्डहरुमा उत्कृष्ट ठहरिएकाले यो वर्ष उनलाई यो पुरष्कारका लागि छनोट गरिएको हो,’ जीसीआइएफले भनेको छ ।
    अमेरिकाका सबैभन्दा ठूला बैंकहरुमध्ये एक सिटि ग्रुपमा वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका प्रवेश अहिले नयाँ पुस्ताको बैंक क्रस रिभरमा क्वान्टिटेटिभ स्ट्राटेजिज विभागको प्रमुखको रुपमा काम गरिरहेका छन् ।
    ‘मेरो विभागको मुख्य काम भनेको वित्तीय प्रविधिसम्बन्धी (फिनटेक) कम्पनीहरुलाई पूँजी बजारसँग जोड्न मदत गर्नु हो,’ रिजालले भने, ‘हामीले गणित र वित्तको माध्यमबाट पूँजी बजारको अनुमान गछौं र ब्यांकको पूँजीलाई कसरी लगानी गर्ने भन्ने निधो गर्छाैं । हामीले प्रत्येक वर्ष वैकल्पिक कर्जा प्ल्याटफर्महरुबाट अरबौं डलर खरिद गरी हेज फन्ड, ठूला लगानी ब्यांकहरु र अन्य ब्यांकहरुलाई बिक्री गर्न सघाउंछौं ।’
    एउटा नेपाली बैंकको सल्लाहकारको रुपमा पनि काम गरिसकेका प्रवेशले विश्व पूँजी बजारमा नेपाली कर्जाको व्यापार गर्ने दिन छिट्टै आओस् भन्ने आफुले चाहेको बताए । उनी अहिले नाइजेरियाको क्रेडिट डेटा मार्केट प्लेसको संचालक समिति सदस्यको रुपमा पनि काम गरिरहेका छन् ।
    गत वर्ष कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पुराएको असर न्यूनीकरण गर्न प्रवेशले नेपाली बैंकहरुलाई सामाजिक दायित्व अन्तर्गत अर्थतन्त्रलाई चलायमान गराउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । तर, अहिले त्यतिले मात्रै नपुग्ने उनको आंकलन छ ।
    ‘नेपालका बैंकहरुमा कर्जा जोखिम तुलनात्मक रुपमा नियन्त्रित रहँदै आएको छ । यसको अलि अलि बृद्धिले खासै असर पर्दैन, तर राष्ट्र बैंकका ध्यान उत्पादनका साधनहरु कसरी बढाउनेतर्फ हुनुपर्छ । मुख्य कुरा विश्व बजारमा हामीले कसरी आफ्नो उपस्थिति देखाउन सक्छौं भन्ने नै हो । अर्थतन्त्रको पुनर्निर्माणका लागि काम गर्दा त्यो नै निर्देशक प्रश्न हुनुपर्छ जस्तो मलाई लाग्छ,’ उनले भने । बिराटनगरमा जन्मिएका प्रवेशले न्यूयोर्क विश्वविद्यालयबाट वित्तीय इञ्जिनियरिंग विषयमा स्नातकोत्तर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्