News Portal

  • जीवन विकास लघुवित्तको आइपिओ असार ११ गदेदेखि निष्काशन हुने

    आर्थीकसंसार संवाददाता३ असार, २०७८
    ९६६ पटक
    ३ असार, २०७८

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । संस्थाले प्रति कित्ता एक सय रुपैयाँ दरमा १९ लाख ७७ हजार ३०० सय कित्ता शेयर जारी गर्ने भएको हो । उक्त शेयरमध्ये ३० हजार ४२० कित्ता कर्मचारीहरूका लागि, ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई बिक्री गरेर बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरिने भएको हो ।
    सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
    संस्थाले प्राथमिक शेयर निष्काशनका लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ । यस रेटिङले समयमा वित्तीय दायित्व पूरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्दछ ।
    प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्ने छ । जीवन विकास समाज नामक गैरसरकारी संस्था ‘एनजिओ’ ले प्रवद्र्धन गरेको यस संस्थाको १६ वटा जिल्लामा १३६ वटा शाखा कार्यालय रहेको छ । राष्ट्रिय स्तरको अनुमति भए पनि विस्तारै अन्य जिल्लामा पनि आफ्नो शाखा सञ्जाल विस्तार गर्दै लैजाने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।
    दुई वटा संस्थालाई मर्जर गरेर यस संस्थाले आफ्नो शाखा सञ्जाल तथा पुँजी बलियो बनाएको थियो । संस्थाले गत भदौमा सल्भ लघुवित्त वित्तीय संस्था र गरिवी न्युनिकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो। सफल मर्जर पछि गत भदौ २२ गतेदेखि नै एकिकृत कारोबार हुँदै आएको छ ।
    हालको पुँजी अनुसार संस्थाको प्रमुख शेयरधनीहरूमा जीवन विकास समाजको ३० प्रतिशत, प्रभु क्यापिटलको १३ प्रतिशत, एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्टको ९ प्रतिशत, सल्भको ७ प्रतिशत, एनआईसी एशिया बैंकको तीन प्रतिशत र सामुदायिक महिला विकास केन्द्रको एक प्रतिशत शेयर रहेको छ । संस्थापक शेयरधनीहरूमध्ये संस्थागत ६ वटा र व्यक्तिगत ६६ जना रहेका छन् ।
    प्राथमिक शेयर निष्काशन पछि संस्थागत लगानीकर्ताको हिस्सा ४३.४० प्रतिशतमा झर्नेछ भने व्यक्तिगत लगानीकर्ताको हिस्सा २४.१० प्रतिशतमा झर्नेछ । प्राथमिक शेयरधनीहरूको हिस्सा ३२.५ प्रतिशत कायम हुनेछ ।
    हाल संस्थाको २ लाख ८९ हजार जना सदश्य रहेका छन् । एक लाख ९० हजार जना ऋणी रहेका छन् भने उनीहरूलाई १८ अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गरिएको छ । हाल शाखा कार्यालय १३६ वटा छन् भने कर्मचारी संख्या ८४० जना रहेका छन् । संस्थाले आफ्नो वार्षिक योजना बमोजिम सम्बन्धित निकायहरूको सहयोग तथा सहकार्यमा शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, रोजगारी विकासलगायतका क्षेत्रमा समेत कार्य गरिरहेको छ मण्डलले जानकारि दिए ।

    प्रतिकृया दिनुहोस्