News Portal

  • प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

    पुनर्गठित मन्त्रीले लिए सपथ

    आर्थीकसंसार संवाददाता२१ जेठ, २०७८
    ९४२ पटक
    २१ जेठ, २०७८

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।
    प्रधानमन्त्री केपी ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक बाँकी सबै मन्त्रीलाई हटाएका छन् । उनले मन्त्रिपरिषद् पुनर्गठनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्रीलाई हटाएका छन् । बाहिरिने मन्त्रीमध्ये उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि रहेका छन्् ।
    पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन् । उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
    त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानुन मन्त्रीका रुपमा यथावत रहनेछन् । शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
    जनता समाजवादी पार्टी (जसपा)बाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
    शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् । यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री भएका छन् । यस्तै चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बनेका छन् । उपेन्द्र यादवको साथ छोडेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङले सरकारमा जाने मौका पाएका हुन् ।
    नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
    प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैसँग राख्ने भएका छन् । हाललाई यी सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने भएका छन् ।
    जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् ।
    को को बाहिरिए ?
    मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।
    यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।
    स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

    यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :

    • प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
    • विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
    • राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
    • रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
    • शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
    • कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
    • बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
    • लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
    • शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
    • अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
    • विमल श्रीवास्तव : श्रम तथा रोजगार
    • उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
    • लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
    • चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
    • एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
    • चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
    • रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
    प्रतिकृया दिनुहोस्