News Portal

  • सिटिजन्स बैंक पन्ध्रौं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता७ वैशाख, २०७८
    ६७४ पटक
    ७ वैशाख, २०७८

    काठमाडौं । नेपालीहरुलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ २०६४ बैशाख ७ गतेदेखि २०औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ ।
    ५६ करोड रुपैयाँ चुक्ता पुँजीबाट स्थापना भएको यस बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ । त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।
    बैंक स्थापना भएको वर्ष समाप्तीमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७÷७८ को चैत्र मसान्तसम्म आईपुग्दा बैंकको कुल निक्षेप करिब १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिब १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
    पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा बृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्बभन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ ।
    स्थापनाको पहिलो वर्ष नौवटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिब १० लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा थप ७४ वटा शाखाहरू विस्तार गरिसकेको छ ।
    बैंकिंङ्ग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापनाकालदेखि नै पहलकदमी गरिसकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केही उदाहरणहरु हुन् । वित्तीय पहुँच तथा समावेशिता बृद्धि र औपचारिक अर्थतन्त्रको प्रवद्र्धन तथा संघीयतालाई दह्रो र सहज बनाउन सरकारले अवलम्बन गरेको सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई आत्मसात गर्दै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा पनि शाखाहरू विस्तार गर्दै आएको छ ।
    बैंकको थालनी हुँदा ४४ जना कर्मचारी रहेकोमा हाल यस बैंकसँग १ हजार ६ सय जना कर्मचारी आवद्ध छन् । बैंकले १११ वटा स्थानबाट एटिएम सेवा प्रदान गर्दै आएको छ ।
    यस चौध वर्षको अवधिमा बैंकको मोबाईल बैंकिङ्ग सेवाको ३ लाख ४४ हजार १८३ जनाले उपयोग गर्दैछन् । सिटिजन्स बैंकको ई–बैंकिङ्गको प्रयोगकर्ता २३ हजार ६६० पुगेको छ भने सिटिजन्स डेबिट तथा क्रेडिट कार्डधारकको संख्या १ लाख ७९ हजार ७४० रहेको छ ।
    बैंकले हालसम्म १३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकहरुसँग विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
    नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको बैंकले हाल सालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डबाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
    खुद्रा लेनदेन र किनमेललाई सहज, सरल र झन्झटरहित बनाउनका खातिर यस बैंकले विभिन्न तरकारी बजार, फलफूल बजार, ससाना किराना पसलहरु, पान पसल, पेट्रोल पम्प आदिजस्ता स्थानहरुमा ५ हजार ३१९ वटा क्युआर कोड क्युआर कोड तथा ४४० वटा पिओएस मेसिन वितरण गरेर खुद्रा लेनदेनलाई सहज बनाउन एक परिष्कृत कार्ययोजनाका साथ द्रुत गतिमा कार्य गर्दै आइरहेको छ ।
    आगामी दिनमा डिजिटल सेवाको विकाशमा बैंक अझै आक्रामक रूपमा प्रस्तुत हुने कुरा बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्