News Portal

  • एनआईबिएल समृद्धि फण्ड–२ सञ्चालन गर्न इन्भेष्टमेन्ट बैंकले पायो बोर्डबाट अनुमति

    आर्थीकसंसार संवाददाता४ बैशाख, २०७८
    ११७३ पटक
    ४ बैशाख, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने चौथाें योजनाको रुपमा ‘एनआईबिएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ । यस योजनाको आकार १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधिसम्म सञ्चालनमा रहनेछ । प्रति इकाई मूल्य १० दरको १२ करोड इकाईमध्ये बीज पुँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखी बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिनेछ ।
    यस योजनाको अवधिभर सामूहिक लगानी कोष नियमावली एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधीनमा रही इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ । सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उद्देश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।
    नेपालको पुँजी बजारमा सामूहिक लगानी कोषअन्तर्गत विभिन्न योजनाहरु संचालन गर्ने उद्देश्यले आफु कोष प्रबद्र्धक रहि साथै बैँकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआईबिएल म्युचुअल फण्ड’ नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आइरहेको छ ।
    ‘एनआईबिएल म्युचुअल फण्ड’को पहिलो योजना ‘एनआईबिएल समृद्धि फण्ड–१’ सफलतापूर्वक सञ्चालन गर्दै यस योजनाका इकाईधनीहरुलाई हालसम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।

    प्रतिकृया दिनुहोस्