News Portal

  • नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२० चैत्र, २०७७
    ९९९ पटक
    २० चैत्र, २०७७

    काठमाडौं । नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रा. लि.बीच कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । सम्झौतासँगै बैंकले कृषि प्राविधिकलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने छ ।
    नबिल बैंक, एसएमई तथा लघुवित्तका प्रमुख निरजकुमार बस्नेत (डनिल) र आरएण्ड डिका अध्यक्ष सुनिता न्हेम्हाफूकीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
    साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एसएमई तथा लघुवित्तका प्रमुख निरजकुमार बस्नेतले भने, ‘नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ, जुन नेपालको कुल ग्रार्हस्थ उत्पादनको प्रमुख योगदानकर्ता हो । हामी कृषि प्राविधिकहरुका आवश्कताअनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्याउन उत्साहित छौं । यस साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशीलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ । नबिल बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृति नै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ ।’
    आरएण्ड डिका अध्यक्ष सुनिता न्हेम्हाफूकीले भनिन्, ‘नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न नसक्नु हो । तसर्थ, कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशीलतातर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आरएण्डडि इनोभेटिभ सोलुसनले कृषि उद्यमशीलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तीय पहुँचसहितको कृषि उद्यमशीलता विकास कार्यक्रम ल्याएको छ । यसका लागि आरएण्ड डि इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरी उद्यमशीलता विकाससम्बन्धी आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाखसम्मको सहुलियत दरको कर्जा नबिल बैंकले उपलब्ध गराउनेछ । यस कार्यक्रमले कृषि उद्यमशीलताको दिगो विकाससँगै तिनै प्राविधिकमार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिइएको छ । यस कार्यक्रमअन्तर्गत जेटिए, जेटि, आईएस्सीएजी र बिएस्सीएजी अध्ययन गरेकाले भाग लिन सक्नेछन् । यस कार्यक्रमअन्तर्गत आगामी एक वर्ष भित्रमा कम्तिमा १०० जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठाउँमा उद्यम विकास गर्ने योजना रहेको छ ।’

    प्रतिकृया दिनुहोस्