News Portal

  • ग्लोबल बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सोलुखुम्बुमा

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७७
    ५९० पटक
    ९ चैत्र, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ ।
    बैंकले, सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका–४, फाप्लुमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलु दूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका लागि बैंकको प्रतिनिधिमा मानकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।
    शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
    कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढाटाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गर्ने गरेको छ ।
    बैंकले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्