News Portal

  • नेपाल बंगलादेश बैंकबाट सुन्दरहरैचाका नगरपालिकाका युवाले ऋण पाउने

    आर्थीकसंसार संवाददाता२ चैत्र, २०७७
    ३९७ पटक
    २ चैत्र, २०७७

    काठमाडौं । सुन्दरहरैचाका नगरपालिकाका युवाले नेपाल बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजमै ऋण (कर्जा) पाउने भएका छन् । नेपाल बंगलादेश तथा सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।
    सो सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद ढकाल र बैंकको तर्फबाट प्रदेश १ का प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिस गर्नेछ र त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदानगर्न सिफारिस गर्ने सम्झौतामा उल्लेख छ । ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने जानकारी गराएको छ ।
    बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम सात लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको जानकारी दिए । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको हो ।
    सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने गरी हस्ताक्षर भए पनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । सम्झौता अवधि समाप्तिपछि दुबै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौतापत्रमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्