News Portal

  • एनसीसी बैंकको चितवनको हाकिम चोकमा नयाँ शाखा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२ चैत्र, २०७७
    ७४४ पटक
    २ चैत्र, २०७७

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक)ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । एनसीसी बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमका बीच एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभयो ।
    अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका–९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
    सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तीय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्नुहुँदै एनसीसी बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैंकले सेवा गर्ने जानकारी दिनुभयो । साथै उहाँले बैंकिङ व्यवसाय व्यापारमुखी मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय सञ्चालन गर्नुपर्ने र एनसीसी बैंकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख गर्नुभयो । बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैंकबीचको सम्बन्धलाई दिगो बनाउन सकिने बताउनुभयो ।
    कार्यक्रममा आफ्ना भनाई राख्नुहुँदै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजी व्यवसायीहरु रहेको र उनीहरु सबैसँग सहकार्य गर्न सकिने धारणा राख्नुभयो । साथै उहाँले एनसीसी बैंकका कर्मचारीहरुसँग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभवसमेत साट्नुभयो । यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसँग बैंक तथा वित्तीय सेवाबीचको सम्बन्ध तथा उद्यमशीलता प्रबद्र्धनका लागि एनसीसी बैंकको योगदान रहेको चर्चा गर्नुभयो । यसैगरी वडा नं. ९ का प्रतिनिधि किशोर सापकोटाले आफु विगत १६–१७ वर्षदेखि बैंकको ग्राहक रहेको र अहिले आफ्नै घरआँगनमा बैंकको शाखा खुलेकोमा खुसी व्यक्त गर्नुभयो भने बैंकले कृषि क्षेत्र तथा रोजगारी प्रबद्र्धन हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझावसमेत दिनुभयो ।
    कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै बैंकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहं भूमिका रहने भएकाले एनसीसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको सुरुवात गरिएको उल्लेख गर्नुभयो । शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पुर्याउने अपेक्षासहित सम्पूर्ण व्यवसायीहरुलाई बैंकमार्फत सेवा लिन अर्यालले अनुरोध गर्नुभयो ।
    देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १२८ शाखा सञ्चालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर सञ्चालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । शाखा विस्तार सँगसँगै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न कटिबद्ध रहेको एनसीसी बैंकले विभिन्न खालका आकर्षक र प्रभावशाली वित्तीय योजनाहरुसमेत निरन्तर लागु गर्दै आएको छ । आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवाको छवी स्थापित गरिसकेको एनसीसी बैंक नेपाल र नेपालीको आर्थिक समृद्धिका लागि वर्षौंदेखि तल्लिन रहँदै आएको छ । आगामी दिनमा अझै कटिबद्ध भएर वित्तीय सेवामा लाग्ने प्रण बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्