News Portal

  • जीवन लघुवित्तले आइपिओ ल्याउदै

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०७७
    ११४३ पटक
    २४ फागुन, २०७७

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ । यस रेटिङले समयमा वित्तीय दायित्व पूरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्दछ ।
    संस्थाले सर्वसाधारण समूह तर्फको १९ करोड ७७ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि उक्त रेटिङ गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ । प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । तर बोर्डले अहिलेसम्म आइपिओको पाइपलाईनमा भने राखेको छैन ।
    प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्ने मण्डलले जानकारी दिए । जीवन विकास समाज नामक गैरसरकारी संस्था ‘एनजिओ’ ले प्रवद्र्धन गरेको यस संस्थाको १६ वटा जिल्लामा १३६ वटा शाखा कार्यालय रहेको छ । राष्ट्रिय स्तरको अनुमति भए पनि विस्तारै अन्य जिल्लामा पनि आफ्नो शाखा सञ्जाल विस्तार गर्दै लैजाने योजना रहेको प्रमुख कार्यकारी अधिकृत मण्डलले जानकारी दिए ।
    दुईवटा संस्थालाई मर्जर गरेर यस संस्थाले आफ्नो शाखा सञ्जाल तथा पुँजी बलियो बनाएको थियो । संस्थाले गत भदौमा सल्भ लघुवित्त वित्तीय संस्था र गरिवी न्युनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो । सफल मर्जरपछि गत भदौ २२ गतेदेखि नै एकीकृत कारोबार हुँदै आएको छ ।
    हालको पुँजीअनुसार संस्थाको प्रमुख शेयरधनीहरुमा जीवन विकास समाजको ३० प्रतिशत, प्रभु क्यापिटलको १३ प्रतिशत, एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्टको ९ प्रतिशत, सल्भको ७ प्रतिशत, एनआईसी एशिया बैंकको तीन प्रतिशत र सामुदायिक महिला विकास केन्द्रको एक प्रतिशत शेयर रहेको छ । संस्थापक शेयरधनीहरुमध्ये संस्थागत ६ वटा र व्यक्तिगत ६६ जना रहेका छन् ।
    प्राथमिक शेयर निष्काशनपछि संस्थागत लगानीकर्ताको हिस्सा ४३.४० प्रतिशतमा झर्नेछ भने व्यक्तिगत लगानीकर्ताको हिस्सा २४.१० प्रतिशतमा झर्नेछ । प्राथमिक शेयरधनीहरुको हिस्सा ३२.५ प्रतिशत कायम हुनेछ ।
    हाल संस्थाको २ लाख ८९ हजार जना सदश्य रहेका छन् । एक लाख ९० हजार जना ऋणी रहेका छन् भने उनीहरुलाई १८ अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गरिएको छ । हाल शाखा कार्यालय १३६ वटा छन् भने कर्मचारी संख्या ८४० जना रहेका छन् । संस्थाले आफ्नो वार्षिक योजना बमोजिम सम्बन्धित निकायहरुको सहयोग तथा सहकार्यमा शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, रोजगारी विकासलगायतका क्षेत्रमा समेत कार्य गरिरहेको छ मण्डलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्