१६ कार्तिक, २०८३काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ सिजन आइतबार सम्पन्न भएको छ । बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता धन्यन्तरी फुटसलमा सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो ।
मुख्य प्रतियोगिताअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) बीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । उक्त प्रतिस्पर्धामा नाफिज विजयी भएको थियो ।
पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३-२ गोलले पराजित गर्दै उपाधि जितेको छ । त्यस्तै, महिलातर्फको फाइनलमा साविक विजेता लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै उपाधि रक्षा गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । समारोहमा बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो ।
बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच खेलकुदमार्फत आपसी सम्बन्ध, एकता र सहकार्य सुदृढ बनाउन योगदान पु¥याउँदै आएको बैंकले जनाएको छ । प्रतियोगिताले विभिन्न संस्थाका कर्मचारीलाई कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत एकै ठाउँमा जोड्दै स्वस्थ प्रतिस्पर्धाको अवसर प्रदान गर्ने बैंकको विश्वास छ ।
यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।



