२ कार्तिक, २०८३काठमाडौं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्म डिगो एपमा उपलब्ध भएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको फिल्मलाई विश्वभर एकसाथ रिलिज गरिएको हो।
षट्कोण आर्ट्सको निर्माण रहेको फिल्म अब नेपालसहित विश्वभर रहेका नेपाली दर्शकले डिगो एपमार्फत हेर्न पाउनेछन्। विदेशका धेरै स्थानमा फिल्म प्रदर्शन गर्न नसकिएपछि ओटीटी प्लेटफर्ममार्फत विश्वभरका नेपाली दर्शकमाझ पुर्याइएको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले बताए।
षट्कोण आर्ट्सले सामाजिक दायित्वसँगै मनोरञ्जनलाई प्राथमिकतामा राखेर फिल्म निर्माण गर्दै आएको उल्लेख गर्दै बानियाँले ‘लालीबजार’ सबै उमेर समूहका दर्शकका लागि सिकाइको माध्यम बन्ने विश्वास व्यक्त गरे।
यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायतका कलाकारको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।
फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन्।



