News Portal

  • अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे र गुगल पेमार्फत भुक्तानी लिन सक्ने सेवा सुरु

    आर्थीकसंसार संवाददाता१६ असोज, २०८३
    १७ पटक
    १६ असोज, २०८३

    काठमाडौं । एनआईसी एशिया बैंकले नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

    बैंकका अनुसार अब बैंकको ई–कमर्स भुक्तानी गेटवेमा आबद्ध व्यापारी ग्राहकले विश्वभर रहेका एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत सहज र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन् ।

    यस सुविधाका लागि बैंकको ई–कमर्स भुक्तानी गेटवेमा आबद्ध भएका तथा आबद्ध हुन चाहने व्यवसायी ग्राहकले सेवा लिन सक्नेछन् । एप्पल पे र गुगल पे मोबाइलमा आधारित अन्तर्राष्ट्रिय भुक्तानी माध्यम हुन् ।

    यी माध्यम प्रयोग गर्ने ग्राहकले भौतिक कार्ड बोक्नुपर्ने झन्झट हटाउँदै मोबाइलमा आफ्नो कार्डको विवरण सुरक्षित रूपमा राखेर भुक्तानी गर्न सक्नेछन् ।

    विशेषगरी होटल, पर्यटन तथा यात्रा व्यवसाय, हस्तकला, वायुसेवा, ई–कमर्स र सूचना प्रविधि क्षेत्रका व्यवसायीले यस सुविधाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ । यसबाट अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने नेपाली व्यवसायलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

    बैंकका अनुसार नयाँ सुविधाले पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्स, सूचना प्रविधि तथा सामान निर्यात गर्ने व्यवसायलाई अन्तर्राष्ट्रिय ग्राहकसँग कारोबार गर्न सहज बनाउनेछ । साथै, विदेशी मुद्रा आर्जन तथा अन्तरदेशीय व्यापार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    नेपालमै पहिलोपटक सुरु गरिएको यो सेवाले भुक्तानी प्रक्रियालाई थप सहज, सरल र सुरक्षित बनाउनुका साथै नेपाली व्यवसायीको कारोबार विस्तारमा सहयोग पुग्ने बैंकको विश्वास छ । यसले नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तरदेशीय भुक्तानी प्रणालीमा समेत नयाँ आयाम थप्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्