१३ असोज, २०८३काठमाडौं । इसेवाले ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ । यो सेवामार्फत ग्राहकले इसेवा एपबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
यसका लागि इसेवा, रिलायन्स फाइनान्स र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्टबीच त्रिपक्षीय साझेदारी भएको छ । असोज ८ गते इसेवाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा साझेदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
साझेदारीअनुसार परिमिताका विद्युतीय स्कुटर खरिद गर्न इसेवा प्लेटफर्ममार्फत ‘बाइ नाउ, पे लेटर’ सुविधा लिन सकिनेछ । रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।
रिलायन्स फाइनान्सले यस सेवाअन्तर्गत ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ । ग्राहकले उक्त कर्जा अधिकतम ३६ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन् ।
इसेवाका अनुसार ग्राहकले स्कुटर खरिदका लागि आवश्यक प्रक्रिया इसेवा एपबाटै पूरा गर्न सक्नेछन् । यसले एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउने कम्पनीको भनाइ छ ।
इसेवाले डिजिटल माध्यमबाट वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ सेवा ल्याएको जनाएको छ । विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने यो सेवाले विद्युतीय सवारीसाधनको प्रयोग तथा दिगो यातायात प्रवर्द्धनमा समेत सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।




