५ असोज, २०८३काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित जिल्लाका नागरिकका लागि विभिन्न राहत तथा सञ्चार सुविधा थप गरेको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका नागरिकलाई लक्षित गरी कम्पनीले विभिन्न सुविधा उपलब्ध गराउने भएको हो । पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक आसपासका बाढी प्रभावित नागरिकले समेत यी सुविधा पाउनेछन् ।
बाढीका कारण क्षति भएका तर पुनः प्रयोग गर्न मिल्ने अवस्थामा नरहेका एनटी फाइबर केबल तथा राउटर नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराई जडान गर्ने जनाएको छ । एनटी फाइबर प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि सकिएमा थप तीन महिनाका लागि निःशुल्क सेवा उपलब्ध गराइनेछ ।
बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा रहेको सिमकार्ड पुनः वितरण गर्ने व्यवस्था पनि कम्पनीले गरेको छ । यसका लागि सम्बन्धित ग्राहकले पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ भने ती नम्बर बाढी प्रभावित क्षेत्रमा प्रयोग भएको हुनुपर्ने र सम्बन्धित ग्राहकको पहिचान प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बाढी प्रभावित क्षेत्रबाट सूचना, क्षतिको विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी, फिल्ड रिपोर्ट, फोटो र भिडियो समयमै संकलन तथा प्रवाह गर्न एक वर्षका लागि उच्च गतिको निःशुल्क इन्टरनेट र प्राविधिक सहयोग उपलब्ध गराइएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल सीएमसी–नेपालसीएमसी–नेपाल को नाममा जडान गरिएको टोल फ्री नम्बर १८१०५०००४०२ मा बाढी प्रभावित नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा उपलब्ध गराउन तीन महिनासम्मको मासिक बिल निःशुल्क गर्ने व्यवस्था पनि गरिएको छ ।
कम्पनीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार तथा प्रतिकार्य तालिम केन्द्र र राधास्वामी सत्संग व्यास नेपाल, सामाखुशी केन्द्रमा राहत संकलन तथा व्यवस्थापनका लागि एक महिनासम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट उपलब्ध गराइएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय भरतपुरमा रहेको विपद् व्यवस्थापन युनिटका लागि एक वर्षसम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि नै झन्डै २० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइसकेको जनाएको छ । बाढीबाट क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको पुनर्निर्माण कार्य पनि जारी रहेको कम्पनीले जनाएको छ ।

