३ असोज, २०८३काठमाडौं । म्याक्स इन्टरनेसनलले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ६७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५२.२८ प्रतिशत अर्थात् ९१ करोड ७० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब ७५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कारोबारमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको नाफा मार्जिन भने न्यून रहेको छ । गत आर्थिक वर्षमा कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अन्य गैरनगद खर्चअघिको सञ्चालन नाफा मार्जिन ४.६४ प्रतिशत कायम भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनी सञ्चालन नाफामा घाटामा रहेको थियो ।
कम्पनीको कारोबार कार्यशील पुँजीमा बढी निर्भर रहेको छ । ग्राहकलाई लामो उधारो अवधि उपलब्ध गराउने भएकाले रकम उठाउन लाग्ने समय उच्च रहेको छ । गत आर्थिक वर्षमा कम्पनीको औसत रकम उठाउने अवधि १२३ दिन रहेको थियो । यद्यपि, अघिल्लो आर्थिक वर्षको १८० दिनको तुलनामा यसमा सुधार भएको छ ।
कम्पनीले विभिन्न ब्रान्डका वस्तुको मौज्दात राख्नुका साथै मागअनुसार वस्तु आयात गर्ने गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको औसत मौज्दात अवधि २२ दिन रहेको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि २० दिन थियो । त्यसैगरी, आपूर्तिकर्तालाई रकम भुक्तानी गर्न लाग्ने औसत अवधि २४ दिनमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि ७५ दिन रहेको थियो ।
समग्रमा कम्पनीको सञ्चालन चक्र गत आर्थिक वर्षमा १२२ दिन रहेको छ । अघिल्लो आर्थिक वर्षमा १२६ दिन रहेको सञ्चालन चक्र सामान्य सुधारसहित स्थिर रहेको देखिन्छ ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ७ करोड ४० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सन् २००६ मा स्थापना भएको म्याक्स इन्टरनेसनल सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु तथा सेवाको व्यापार गर्ने कम्पनी हो । नेपालभर डेलका ल्यापटप तथा सर्भरको आधिकारिक वितरकका रूपमा रहेको कम्पनीले विभिन्न संस्थाका लागि आवश्यक उद्यम तथा व्यवसायिक प्रकृतिका सूचना प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले सन् २०१७ मा आईएसओ प्रमाणपत्र प्राप्त गरेको थियो । करिब दुई दशकदेखि सञ्चालनमा रहेको कम्पनी २५ भन्दा बढी प्रमुख मौलिक उपकरण निर्माता (ओईएम) ब्रान्डसँग आबद्ध छ । कम्पनीले १ हजारभन्दा बढी प्रकारका सूचना प्रविधिसम्बन्धी उत्पादनको कारोबार गर्दै आएको छ ।
सन् २००६ देखि नै कम्पनीकी एकल स्वामित्वकर्ता शाहिना हुसेनले म्याक्स इन्टरनेसनलको नेतृत्व गर्दै आएकी छन् । हुसेनसँग सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । उनले इन्जिनियरिङ तथा व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन गरेकी छन् ।
त्यसैगरी, अकबर हुसेन सन् २००६ देखि नै कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । उनले बी–टेक तहको अध्ययन गरेका छन् भने सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेको छ ।
म्याक्स इन्टरनेसनल नेपालमा डेल टेक्नोलोजिजको वितरणतर्फ उच्च तहको ‘टाइटेनियम पार्टनर’का रूपमा रहेको छ । कम्पनीले डेल ईएमसी, ओरेकल, लेनोभो, माइक्रोसफ्ट, एचपी, सिमान्टेक र आईबीएमलगायत प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ब्रान्डसँग आधिकारिक साझेदारी गरेको छ । २५ भन्दा बढी प्रमुख ओईएम ब्रान्डसँगको आबद्धताले कम्पनीको विश्वसनीयता तथा ग्राहक आधार विस्तारमा सहयोग पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न व्यावसायिक गतिविधिका लागि स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीसँग रणनीतिक साझेदारी गर्दै आएको छ । आफ्ना उत्पादन तथा सेवा अन्तिम ग्राहकसम्म पु¥याउन थोक तथा खुद्रा विक्रेताको सञ्जाल प्रयोग गर्दै आएको कम्पनीले ठूला ग्राहक तथा परियोजनाका लागि प्रणाली एकीकृत गर्ने कम्पनीसँग समेत सहकार्य गर्दै आएको छ ।
म्याक्स इन्टरनेसनलको उत्पादन तथा सेवाको दायरा पनि विविध रहेको छ । कम्पनीले सूचना प्रविधि प्रणाली, उपभोक्ता विद्युतीय सामग्री, सफ्टवेयर समाधान तथा भण्डारण प्रणालीलगायत विभिन्न उत्पादन तथा सेवाको कारोबार गर्दै आएको छ । सरकारी तथा निजी क्षेत्रका ग्राहकलाई सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा सहयोग सेवा उपलब्ध गराउँदै आएको कम्पनीका ग्राहकमा बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी र अन्य ठूला व्यावसायिक संस्था रहेका छन् ।
सूचना प्रविधिको प्रयोग विस्तार हुँदै गएसँगै यस क्षेत्रको बजारसमेत बढ्दै गएको छ । कम्पनीहरूले प्रतिस्पर्धात्मक क्षमता बढाउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् भने सर्वसाधारणमा समेत सूचना प्रविधिसम्बन्धी चेतना विस्तार भइरहेको छ ।
सूचना प्रविधिको बढ्दो प्रयोग, वित्तीय साक्षरतामा भएको वृद्धि, घरबाटै काम गर्ने अभ्यास तथा विभिन्न व्यावसायिक गतिविधिमा प्रविधिमाथिको बढ्दो निर्भरताले आईटी उद्योगको बजार विस्तारमा सहयोग पुगेको कम्पनीको भनाइ छ ।
नेपालमा सूचना प्रविधिको प्रयोग अझै प्रारम्भिक चरणमा रहे पनि निजी तथा सार्वजनिक दुवै क्षेत्रमा यसको पहुँच र प्रयोग विस्तार हुँदै गएको छ । बैंक तथा वित्तीय संस्था, सरकारी निकाय तथा निजी क्षेत्रका कम्पनीमा सूचना प्रविधिको प्रयोग बढ्दै जानुले आगामी दिनमा आईटीसम्बन्धी उत्पादन तथा सेवाको माग विस्तार हुने आधार तयार गरेको छ । प्रविधिको प्रयोग बढ्दै जाँदा सूचना प्रविधि उद्योगको बजार तथा व्यावसायिक सम्भावना पनि क्रमशः विस्तार हुने अपेक्षा कम्पनीले गरेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ ऋण लिएको छ । जसमा २ करोड ८६ लाख रुपैयाँ दीर्घकालीन १ अर्ब १३ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । यसअघि कम्पनीको ऋण १ अर्ब ७३ करोड रुपैयाँ थियो ।

