News Portal

  • जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट मेडिकल कलेज प्रथम

    आर्थीकसंसार संवाददाता५ असोज, २०८३
    ५२ पटक
    ५ असोज, २०८३

    काठमाडौं । जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुर जिल्लाका निजी अस्पतालमध्ये प्रथम भएको छ ।

    कार्यक्रममा ललितपुर जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए ।

    सहभागी अस्पतालहरूले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्यांक प्रस्तुत गर्नुका साथै वार्षिक सेवा प्रवाहको समीक्षा गरेका थिए ।

    वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालहरूको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्यांकन गरिएको थियो ।

    उक्त मूल्यांकनमा किष्ट शिक्षण अस्पतालले सहभागी निजी अस्पतालमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै प्रथम स्थान हासिल गरेको हो ।

    स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको योगदानको कदर गर्दै जनस्वास्थ्य कार्यालय, ललितपुरले किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रशंसापत्र प्रदान गरेको छ ।

    अस्पतालका अनुसार प्राप्त सम्मान गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन तथा तथ्यमा आधारित सेवा प्रणालीलाई प्राथमिकता दिँदै आएको प्रयासको महत्त्वपूर्ण मान्यता हो ।

    उक्त उपलब्धिले स्वास्थ्य सेवा क्षेत्रमा अस्पतालको प्रतिबद्धता र कार्यसम्पादनलाई थप सुदृढ बनाएको अस्पतालले जनाएको छ ।

    किष्ट शिक्षण अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय, विश्वसनीय तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

    ग्वार्को, ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल विसं २०६२ चैत १० गतेदेखि सञ्चालनमा रहेको अस्पताल हो ।

    करिब दुई दशकदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले जटिल तथा गम्भीर स्वास्थ्य अवस्थाका बिरामीका लागि विशेषज्ञ चिकित्सकीय सेवा, उन्नत प्रविधि तथा आधुनिक उपचार सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्