२४ भदौ, २०८३काठमाडौं । ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।
बैंक सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले असोज १६ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा बिहान ९ बजे २०औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभाबाट सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त र ग्लोबल आइएमई सेक्युरिटिजको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरिनेछ ।
सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत निर्धारण गर्नेछ । साथै, बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
त्यसैगरी, सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लोसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
