News Portal

  • विपद् प्रभावित होटल व्यवसायको पुनरुत्थानका लागि महासंघको ११ बुँदे माग

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८३
    १२ पटक
    १८ भदौ, २०८३

    काठमाडाै‌ । हालै रसुवाको भोटेकोसी क्षेत्रमाा आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायको तत्काल राहत, पुनस्र्थापना, पुनरुत्थान तथा पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायी महासंघ, नेपालले ज्ञापनपत्र बुझाएको छ । महासंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ११ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

    महासंघका अध्यक्ष टी. आर. भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार मन्त्रालयमा पर्यटन मन्त्रीलाई प्रत्यक्ष भेट गरी प्रभावित क्षेत्रका व्यवसायीहरूको वास्तविक अवस्था, उनीहरूले भोगिरहेको आर्थिक तथा भौतिक संकट र तत्काल राज्यबाट आवश्यक सहयोगका विषयमा विस्तृत रूपमा ध्यानाकर्षण गराएको थियो ।

    प्रतिनिधिमण्डलमा होटल व्यवसायी महासंघ, नेपालका केन्द्रीय तथा बागमती प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित क्षेत्रका होटल व्यवसायी तथा प्रत्यक्ष रूपमा प्रभावित पीडित परिवारका प्रतिनिधिसमेत सहभागी थिए । यसमार्फत प्रभावित क्षेत्रको अवस्था कागजी विवरणमा मात्र नभई स्थलगत अनुभव र पीडितहरूको प्रत्यक्ष आवाजसहित सरकारसमक्ष प्रस्तुत गरिएको महासंघले जनाएको छ ।

    ज्ञापनपत्रमा रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका प्रभावित क्षेत्रमा होटल तथा रेस्टुरेन्टका भवन, संरचना, फर्निचर, भान्साका उपकरण, विद्युतीय सामग्री, मेसिनरी, खाद्यान्न तथा अन्य व्यावसायिक सामग्रीमा भएको क्षतिका साथै कतिपय व्यवसायीहरूको घरजग्गा तथा निजी सम्पत्तिसमेत गम्भीर रूपमा क्षतिग्रस्त भएको अवस्थालाई समेटिएको छ ।

    व्यवसाय सञ्चालन ठप्प भएको अवस्थामा बैंकको सावाँ–ब्याज, घरभाडा, कर्मचारी खर्च, कर तथा अन्य वित्तीय दायित्व निरन्तर रहँदा प्रभावित व्यवसायीहरू थप गम्भीर आर्थिक संकटमा परेको महासंघको भनाइ छ । कतिपय व्यवसायीहरू व्यवसाय बन्द गर्नुपर्ने तथा विस्थापित हुनुपर्ने अवस्थामा पुगेकाले अबको आवश्यकता केवल तत्कालीन राहत नभई व्यवसायलाई पुनः उभ्याउने र स्थानीय पर्यटन अर्थतन्त्रलाई पुनर्जीवित गर्ने पुनरुत्थान कार्यक्रम रहेको महासंघले स्पष्ट पारेको छ ।

    ११ बुँदे ज्ञापनपत्रमा के छ ?

    महासंघले सरकारसमक्ष प्रस्तुत गरेको ज्ञापनपत्रमा प्रभावित व्यवसायको विस्तृत क्षति मूल्याङ्कन तथा आधिकारिक अभिलेख निर्माण, सहुलियतपूर्ण पुनर्कर्जा, ब्याजमा विशेष अनुदान, बैंक ऋणको रिसेडुलिङ, रिस्टक्चरिङ, पूर्ण क्षति भएका व्यवसायीका लागि विशेष ऋण राहत, रोजगारी पुनस्र्थापना, विस्थापित व्यवसायीका लागि सुरक्षित स्थानमा दीर्घकालीन लिज, बीमा दाबीको फास्ट–ट्र्याक व्यवस्था, कर तथा नवीकरण शुल्कमा छुटलगायतका विषय समेटेको छ ।

    महासंघले प्रभावित क्षेत्रका होटल तथा पर्यटन व्यवसायलाई रिकभरी, रिह्यभिलेसन, को अवधारणाअनुसार पुनः सञ्चालनमा ल्याउन स्पष्ट, समयबद्ध तथा कार्यान्वयनयोग्य विशेष कार्यक्रम आवश्यक रहेको जनाएको छ ।
    साथै, रसुवाको गोसाइँकुण्ड, लाङटाङ लगायतका प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटन क्षेत्र, चीनसँग जोडिएको अन्तर्राष्ट्रिय नाका तथा भविष्यमा विकसित हुन सक्ने कैलाश–मानसरोवर पर्यटन सम्भावनालाई दृष्टिगत गर्दै ‘रसुवा पर्यटन पुनरुत्थान तथा प्रवद्र्धन विशेष कार्यक्रम’ सञ्चालन गर्न महासंघले माग गरेको छ।

    प्रतिकृया दिनुहोस्