१८ भदौ, २०८३काठमाडौं । मोरङ उद्योग व्यापार संघको ६९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभासँगै संघको ७५ वर्षको इतिहास समेटिएको विशेष स्मारिका ‘भिजन टु लेगेसी’ पनि सार्वजनिक गरिएको छ ।
स्मारिकामा संघको ७५ वर्षको यात्रा, उद्योग–व्यापार क्षेत्रमा दिएको योगदान र संस्थाको विकासक्रम समेटिएको छ ।
स्मारिकाको अनावरण संघका अध्यक्ष अनुपम राठी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका पूर्वअध्यक्षहरू र निवर्तमान अध्यक्ष नवीन रिजालले संयुक्त रूपमा गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष अनुपम राठीले ७५ वर्षको इतिहासलाई पुस्तकका रूपमा प्रकाशित गर्न पाउनु संघका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले यो स्मारिका व्यापार, विश्वास र परिवर्तनको ७५ वर्षको दस्तावेज भएको उल्लेख गरे ।
अध्यक्ष राठीले स्मारिका प्रकाशन समितिका संयोजक अमित राठी र सह–संयोजक दिपेश सुवेदीको विशेष प्रशंसा पनि गरे । स्मारिका तयार पार्न उनीहरूले गरेको मेहनत र योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद व्यक्त गरे ।
उद्योगी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा संघले आफ्नो ७५ वर्षको यात्रा स्मरण गर्दै आगामी दिनमा उद्योग र व्यापार क्षेत्रको विकासमा थप सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।
