News Portal

  • प्रभु लाइफको खुद बीमा शुल्क आर्जन ९५ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    ४७८ पटक
    ३० माघ, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा सम्पूर्ण उल्लेख सुधार गर्न सफल भएको छ । गत वर्षको यही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन ९५.०९ प्रतिशतले बृद्धि गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन भने १६४ प्रतिशतले बढाएको छ ।
    प्रभु लाइफले दोस्रो त्रैमाशिक अवधिमा ६० करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन भने २ अर्ब ६८ करोड रुपैयाँ छ । कम्पनीले यसै अवधिमा सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । प्राथमिक शेयर निष्काशनपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ । जगेडा कोषमा भने २८ करोड ४१ लाख रुपैयाँ छ ।
    कम्पनीले खुद मुनाफा पनि १२५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यसै अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिमा तीन करोड ५८ लाख रुपैयाँ थियो । प्रतिशेयर आम्दानी ८ रुपैयाँ छ ।
    प्रभु लाइफले दोस्रो त्रैमाशिक अवधिमा एक करोड १३ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अभिकर्ताले ९ करोड ९५ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन् । हाल कम्पनीको सक्रिय बीमालेखको संख्या एक लाख ६१ हजार वटा छन् । कम्पनीले बीमितलाई ९१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।
    कम्पनीको बोनसदर न्युनतम प्रति हजार ३० रुपैयादेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ । बीमाङ्कीय मूल्याङ्कनपछि मात्रै कम्पनीको वास्तविक मुनाफा थाहा हुन्छ । कर्जा लगानी तथा अन्य आय बापत कम्पनीले ७ करोड ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्