२१ असार, २०८३काठमाडौं । वातावरण संरक्षण र शहरी हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी वर्ल्ड पिस फोरम र नबिल बैंक लिमिटेडले संयुक्त रूपमा टोखा नगरपालिका-२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेका छन् ।
वृक्षारोपण कार्यक्रम नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरेको ‘नबिल ग्रीन वीक’ अभियानको एक महत्वपूर्ण गतिविधिका रूपमा आयोजना गरिएको हो ।
अभियानको उद्देश्य जलवायु परिवर्तन न्यूनीकरण, हरित वातावरण प्रवर्द्धन तथा दिगो विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले वातावरण संरक्षण आजको विश्वको साझा प्राथमिकता भएको उल्लेख गर्दै बैंकले आफ्ना संस्थागत गतिविधिलाई संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यसँग जोडेर अघि बढाइरहेको बताए ।
उनले ‘नबिल ग्रीन वीक’ जस्ता अभियानले हरियाली वातावरण विस्तार गर्नुका साथै आगामी पुस्तालाई स्वच्छ र स्वस्थ पर्यावरण हस्तान्तरण गर्ने लक्ष्य बोकेको स्पष्ट पारे ।
लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक बासु गौतमले वातावरण संरक्षण अभियानमा सहकार्य गरेकोमा नबिल बैंक र स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै रोपिएका २०० एभोकाडोका बिरुवाले शहरी हरियाली विस्तारका साथै भविष्यमा स्थानीय समुदायलाई वातावरणीय र आर्थिक रूपमा समेत लाभ पुग्ने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार वृक्षारोपण अभियानले वातावरण संरक्षणमा जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो र हरित समाज निर्माणमा सामुदायिक सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
