१५ जेठ, २०८३काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको सहभागितामा पोखरामा आयोजित तीन दिने मनोरञ्जनात्मक तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ ।
जेठ १३, १४ र १५ गतेसम्म सञ्चालन भएको कार्यक्रममा संगीत, हाँसो र विभिन्न गतिविधिहरूको गुञ्जनले पर्यटकीय नगरी पोखरा थप उल्लासमय बनेको थियो । कार्यक्रममा फेवा ताल अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट तथा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती मुख्य आकर्षणका रूपमा रहेका थिए ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले यस्ता कार्यक्रमले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्नुका साथै कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
उनले सुन्दर पोखरामा आयोजित कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिरमा सम्पन्न भजन कन्सर्टले सहभागीहरूलाई नयाँ अनुभव दिलाएको उल्लेख गरे ।
कार्यक्रममा करिब १५० भन्दा बढी अभिकर्ता लिडरहरुको उपस्थिति रहेको थियो । पोखरा भ्रमण, सांगीतिक साँझ, भजन कन्सर्ट लगायतका गतिविधिहरू हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएका थिए ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायिका समिक्षा अधिकारी, गायक प्रकाश सपुत तथा हास्य कलाकार सन्दीप क्षेत्री को प्रस्तुतीले सहभागीहरूलाई भरपुर मनोरञ्जन दिएको थियो । साथै स्थानीय भजन समूहले ताल बाराही मन्दिर परिसरमा भक्तिमय वातावरण सिर्जना गरेका थिए ।
कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने ले गीत, संगीत र हास्य प्रस्तुतिले अभिकर्ता लिडरहरुलाई उत्साहित बनाएको बताए ।
कम्पनीले अभिकर्ताहरुलाई लक्षित गर्दै निरन्तर रुपमा मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
