News Portal

  • स्प्रिङ मिटिङमा आईएमएफले भन्यो- नेपालको अर्थतन्त्रको दिशा सही छ

    आर्थीकसंसार संवाददाता११ बैशाख, २०८३
    ५ पटक
    ११ बैशाख, २०८३

    काठमाडौं । राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको स्प्रिङ मिटिङ–२०२६’ मा सहभागिता जनाएका छन् ।

    उक्त बैठकमा उनले आईएमएफका उपप्रबन्ध निर्देशक बो लीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालको आर्थिक स्थिति र पश्चिम एसियामा जारी युद्धका कारण परेको प्रभावबारे छलफल गरे ।

    लीले नेपालको मूल्य स्थिरता र वैदेशिक विनिमय सञ्चितिको अवस्था सन्तोषजनक रहेको भन्दै नेपाल राष्ट्र बैंकको कार्यको प्रशंसा गरे ।

    साथै उनीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतका कार्यक्रमको प्रगति र भावी योजनाबारे पनि गहन छलफल भएको थियो ।

    भ्रमणका क्रममा गभर्नर पौडेलले कोषको एसिया प्रशान्त विभागका निर्देशक कृष्ण श्रीनिवासन र नेपालका लागि मिसन प्रमुख सरवत जहानसँग छुट्टाछुट्टै भेट गरी प्राविधिक सहयोगका विषयमा कुराकानी गरे ।

    त्यसैगरी, दक्षिण पूर्व एसियाली भोटिङ ग्रुप (एसईएभीजी) का कार्यकारी निर्देशकसँगको भेटमा वित्तीय क्षेत्रको सबलीकरण र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबारे छलफल भयो ।

    सम्पत्ति शुद्धीकरण निवारणको क्षेत्रमा नेपालले गरिरहेको प्रयास र ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कने विषयमा उनले एपीजीका अधिकारी डेभिड शाननसँग समेत परामर्श गरेका थिए ।

    त्यसैगरी, उनले मलेसियाको केन्द्रीय बैंकका गभर्नर अब्दुल रसिद गाफरसँगको भेटवार्ता गरे । उक्त भेटमा एआई र बिग डेटा उपयोगको सन्दर्भमा मलेसियाको अनुभव आदानप्रदान गर्ने र नेपाल राष्ट्र बैंकलाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त गरेका थिए ।

    गभर्नर पौडेलले डलास र बोस्टनमा आयोजित विभिन्न कार्यक्रमहरूमा प्रमुख वक्ताको रूपमा सहभागी भई नेपालको लगानी सम्भावना र प्रविधिको भूमिकाबारे धारणा राख्नुका साथै विश्व बैंकद्वारा आयोजित ‘कार्यकारी मञ्च’मा समेत भाग लिए ।

    भ्रमण टोलीमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेल र निर्देशक शरणकुमार अधिकारीको समेत सहभागिता रहेको थियो  ।

    प्रतिकृया दिनुहोस्