News Portal

  • निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

    आर्थीकसंसार संवाददाता६ बैशाख, २०८३
    १० पटक
    ६ बैशाख, २०८३

    दोधारा चाँदनी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताएका छन् । आइतबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

    ‘कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने र हरेक पूर्वाधार निर्माणमा योगदान गर्ने निजी क्षेत्र हो’, ढकालले भने, ‘सबैभन्दा बढी रोजगारी सिर्जना पनि निजी क्षेत्रले गरिरहेका छन् ।’ उनले सुदूरपश्चिममा पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले यस क्षेत्रमा आफूले लगानी गरेको बताए ।

    ‘सुदूरपश्चिममा जहाँ हेर्यो त्यहीँ सम्भावना छ, त्यसकारण यहाँको सबैभन्दा ठूलो पर्यटन पूर्वाधार अगाडि बढाएका छौँ’, अध्यक्ष ढकालले भने, ‘यसले सुदूरपश्चिमको मात्रै नभई मुलुकमै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउने छ ।’ उनले इमान्दारिताका साथ काम गरे प्रतिफल आउने विश्वास व्यक्त गरे । सुदूरपश्चिमबाट छिमेकी मुलुक भारतका ठूला औद्योगिक क्षेत्र नजिक रहेकाले त्यसको फाइदा पनि सुदूरपश्चिमलाई रहेको उनले बताए ।

    ‘यहाँको बडिमालिका, रामारोशन जस्ता धार्मिक पर्यटकीय गन्तव्य छन्,’ ढकालले भने, ‘अब पर्यटकीय पूर्वाधारमा पनि लगानी हुनुपर्छ ।’ उनले निजी क्षेत्रको समस्या समाधानका लागि सरकारसँग निरन्तर पहल गरिरहेको बताए ।

     

    प्रतिकृया दिनुहोस्