१ बैशाख, २०८२काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ भव्य रूपमा मनाउने भएको छ । बैंकले ‘१९औं वार्षिकोत्सव सेलिब्रेसन क्याम्पेन २०८३’ अन्तर्गत वैशाख महिनाभर विविध कार्यक्रम तथा छुट योजना सञ्चालन गर्ने जनाएको छ ।
बैंकका अनुसार उक्त अवधिभर ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गरिनेछ । निष्क्रिय डेबिट कार्डलाई पीओएस वा ई–कमर्स कारोबारमार्फत सक्रिय गराउने ग्राहकले कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । साथै, मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत ई–कम कार्ड अनुरोध गर्दा एस्योरेन्स शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइनेछ ।
त्यस्तै, निष्क्रिय व्यवसायिक क्यूआर भएका ग्राहकले आफ्नो क्यूआर सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । होटल तथा रेस्टुरेन्टमा पीओएस मेसिन जडान गर्दा कारोबार शुल्कमा निश्चित प्रतिशत छुट दिइने बैंकले जनाएको छ । मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत लकर सुविधा अनुरोध गर्दा वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।
बैंकले पारिवारिक सदस्यको नयाँ खाता रेफर गर्ने ग्राहकलाई प्रति खाता १०० रुपैयाँ क्यासब्याक तथा मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानी लिने ग्राहकलाई २०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना पनि ल्याएको छ ।
बैंकका अनुसार यी सबै कार्यक्रम वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउनुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो । यससँगै सिटिजन्स फोनपे क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफर समेत घोषणा गरिएको छ ।
‘बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । हाल बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेनजी सेभिङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको जनाएको छ ।
यसैगरी, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याउनुका साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा, तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंक शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा समेत सुरु गरेको बैंकले जनाएको छ ।
