News Portal

  • मुलुकमा ८ महिनामा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स, अन्य आर्थिक र वित्तीय सूचक कस्ता ?

    आर्थीकसंसार संवाददाता१९ चैत, २०८२
    १२ पटक
    १९ चैत, २०८२

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ८ महिना फागुनसम्म मुलुकमा साढे १४ खर्ब रेमिट्यान्स भित्रिएको छ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो।

    यसैगरी फागुन महिनामा मात्र १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

    अन्य आर्थिक तथा वित्तीय सूचक

    २०८२ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७५ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत रहेको छ।

    चालु वर्ष ८ महिनामा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २५.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतले कमी आएकोछ।

    समीक्षा अवधिसम्म कुल वस्तु आयात १२.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म यस्तो आयात ११.२ प्रतिशतले वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.१ प्रतिशत, २१.२ प्रतिशत र २६.० प्रतिशतले वृद्धि भएको छ।

    चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ।

    समीक्षा अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९७ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले बचतमा रहेको छ।

    समीक्षा अवधिमा शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो।

    २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई २०८२ फागुन मसान्तमा ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

    आर्थिक वर्षको ८ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

    प्रतिकृया दिनुहोस्