News Portal

  • नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्ने, ग्राहकलाई निःशुल्क फोरजी सिम लिन आग्रह

    आर्थीकसंसार संवाददाता१८ चैत, २०८२
    २५ पटक
    १८ चैत, २०८२

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवालाई थप आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यका साथ निकट भविष्यमा थ्रीजी सेवालाई क्रमिक रूपमा बन्द गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

    पुरानो प्रविधिलाई हटाएर नयाँ र द्रुत गतिको फोरजी सेवामा पूर्ण रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको कम्पनीले हाल थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्नो सिम कार्ड परिवर्तन गर्न एसएमएस र भ्वाइस कलमार्फत औपचारिक जानकारी गराइरहेको छ ।

    ग्राहकहरूले आफ्नो पुरानो थ्रीजी सिमलाई कुनै पनि शुल्क नतिरी अर्थात् निःशुल्क रूपमा फोरजी सिममा साट्न सक्ने टेलिकमले जनाएको छ ।

    नयाँ सिम लिनका लागि ग्राहकहरूले आफ्नो पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

    सिम परिवर्तन गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजातहरू जस्तै, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकको प्रतिलिपि साथमा लैजानुपर्ने प्रावधान राखिएको छ ।

    सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि *444# डायल गर्न सकिन्छ । यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टी सेवासमेत सहजै सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ ।

    कम्पनीले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा लैजाने कार्यलाई अहिले निकै तीव्र बनाएको छ । थ्रीजीको तुलनामा फोरजी प्रविधिमा मोबाइल इन्टरनेटको गति उच्च हुनुका साथै सेवाको गुणस्तरमा समेत उल्लेख्य सुधार आउने भएकाले यसबाट ग्राहकहरूले थप उत्कृष्ट डिजिटल अनुभव र फाइदा प्राप्त गर्ने विश्वास नेपाल टेलिकमले लिएको छ।

    प्रतिकृया दिनुहोस्