१६ चैत, २०८२काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने भन्दै आफ्नो वेब साइटबाट राखेको सूचना हटाएको छ । आइतबार एक विज्ञप्ति मार्फत मन्त्रालयको वेबसाइटमा मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने भन्दै सूचना प्रकाशित गरेको थियो । तर, सोमबार मन्त्रालयले नै सूचना हटाएको छ ।
सूचनामा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाउने उल्लेख थियो । मन्त्रालयको वेबसाइटमा विभिन्न कक्षा र उच्च शिक्षा तयारीको लागि सञ्चालन गरिने कार्सहरू बन्द गर्ने भनिएको थियो भने त्यसको केही समयपछि शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा कक्षा १२ सम्मका विद्यार्थी लक्षित गरी सञ्चालन हुँदै आएका केही अतिरिक्त तयारी कक्षाहरू बन्द गरिने भन्दै लेखेका थिए ।
मन्त्रालय निकालेको सूचना र मन्त्रीले सार्वजनिक गरेको स्टाटसमा फरक देखिएपछि मन्त्रालयको वेबसाइटमा राखिएको सूचना हटाएको हो । मन्त्रालयले भने यो विषमा थप प्रष्ट पार्नुपर्ने भएकाले अहिले छलफल गरेर फेरि सूचना निकाल्ने तयारी भइरहेको प्रकृया दिएको छ ।
