News Portal

  • विरेन्द्रनगरमा बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०८२
    ६ पटक
    २९ फागुन, २०८२

    काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा स्थानिय तह सँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम तथा विद्यार्थी लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न भएका छन्। फागुन २८ गते विरेन्द्रनगर नगरपालिकाको सभाहलमा आयोजित बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा विरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न शाखामा कार्यरत कर्मचारीहरू, नगरपालिकाका अगुवा कृषक तथा स्थानीयवासीहरू गरी करिब ५० जनाको सहभागिता रहेको थियो।

    कार्यक्रममा नेपालमा जोखिमको सम्भावना, विपद्को अवस्था, विपद् व्यवस्थापनका चरण, विपद् व्यवस्थापनमा स्थानीय तह तथा सरोकारवालाको भूमिका तथा विपद् पश्चात पुनर्निर्माणमा बीमाको महत्वका विषयमा प्रस्तुतीकरण गरिएको थियो।

    साथै कृषि बीमा, घर बीमा, दुर्घटना बीमा तथा स्वास्थ्य बीमा सम्बन्धी विषयमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निल प्रसाद लामिछानेले विस्तृत जानकारी दिएका थिए ।

    कार्यक्रमका क्रममा उपस्थित कृषकहरूले कृषि बीमा गर्दा बीमा कम्पनीहरू उत्साही नदेखिएको तथा प्रक्रिया झन्झटिलो रहेको गुनासो व्यक्त गरेका थिए। उक्त जिज्ञासाको जवाफ दिँदै प्रमुख लामिछानेले कृषि बीमाबाट कम्पनीहरूलाई धेरै नाफा नहुने भएकाले यस्तो अवस्था देखिएको बताए ।

    साथै नेपाल बीमा प्राधिकरणले कृषि बीमा अस्वीकार गर्न नपाउने गरी जिल्लागत जिम्मेवारी तोकेको र स्थानीय तहले प्रभावकारी रूपमा प्राविधिक परिचालन गरेमा उक्त समस्या समाधान हुन सक्ने बताए ।

    कार्यक्रममा प्रमुख अतिथि मोहनमाया ढकालले बीमा सर्वसाधारणका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सरकारले प्रत्यक्ष क्षतिपूर्ति दिनेभन्दा पनि क्षतिपूर्ति सुनिश्चित गर्ने प्रणाली लाई सुदृढ बनाउन प्रोत्साहन गर्नुपर्ने बताइन् ।साथै त्यसका लागि सहज वातावरण निर्माण गर्न स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिए । कार्यक्रम सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम विश्वराज भट्टराईले गरेका थिए ।

    यसैबीच, २०८२ फागुन २९ गते सुर्खेत बहुमुखी क्याम्पस, विरेन्द्रनगर सुर्खेतमा विद्यार्थी लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १३० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा बीमाको परिचय, प्रकार, महत्व, केही बीमालेख तथा बीमा दर सम्बन्धी प्रस्तुतीकरण नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक विपना पन्थी र कर्णाली प्रदेश कार्यालयका प्रमुख निल प्रसाद लामिछानेले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले घर बीमा, दुर्घटना बीमा तथा स्वास्थ्य बीमाको अपरिहार्यताबारे जिज्ञासा व्यक्त गर्दै बीमामा आबद्ध हुने प्रक्रियाबारे चासो देखाएका थिए।

    कार्यक्रममा उठेका विभिन्न प्रश्नहरूको स्पष्ट जवाफसहित समापन नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निल प्रसाद लामिछानेले गरेका थिए ।

    नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले यस्ता कार्यक्रमहरूले बीमाप्रति आम नागरिकको बुझाइ अभिवृद्धि गर्नुका साथै कृषि तथा विपद् जोखिम व्यवस्थापनमा बीमाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको छ।

    प्रतिकृया दिनुहोस्