News Portal

  • एनसीएचएल इएफटी कार्ड सर्भिसेस् मार्फत नेपाल पे कार्ड इनेबल गर्ने पहिलो बैंक बन्यो सिटिजन्स

    आर्थीकसंसार संवाददाता२९ माघ, २०८२
    ६ पटक
    २९ माघ, २०८२

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीच तथा सर्भिसेस् मार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदानप्रदान भएको हो ।

    यससगै सिटिजन्स बैंक नेपालपे कार्डको अक्वाइरिंग तथा इस्यूइंगका लागि इएफटी कार्ड स्वीचमा औपचारिक रुपमा आवद्ध हुने पहिलो इएफटी सदस्य बैंक बनेको छ ।

    एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीचसंग इन्टिग्रेट भइसकेको र उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न तथा उक्त कार्ड अक्वायर गर्न सक्नेछ । पहिलो चरणमा बैंकले आफ्नो १६८ वटा एटीएम र ४९१ वटा पीओएस टर्मिनल मार्फत नेपालपे कार्डको अक्वायरिंग शुरु गर्नेछ भने क्रमिक रुपमा उक्त कार्ड आफ्नो ग्राहकहरुलाई जारी समेत गर्नेछ ।

    एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायीक रोलआउट शुरु गरिसकेको छ भने अन्तराष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै अन्तर्राष्ट्रिय डिस्कोभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

    एनसीएचएलको इएफटी सर्भिसेस् मार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाहरुले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरु प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेशनल पेमेन्ट स्वीच बीचको इन्टिग्रेसनसंगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सक्ने भएको हो । इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरुले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन् । हालसम्म नेपालपेमा ३४ भन्दा बढि बैंक वित्तीय संस्थाहरु आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् ।

    नेपालका अग्रणी बैंकहरु मध्येको सिटिजन्स बैंक इन्टरनेसनलले हाल १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय देखि बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ । देशभर बैंकका १९७ वटा शाखा, ३ विस्तारित काउन्टर, ७४ शाखारहित बैंकिङ्ग सेवा तथा १६२ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन् । बैंकका हालसम्म ४ लाख भन्दा बढि कार्डहोल्डर ग्राहकहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्